होटल व्यवसायी र ट्राभल संघको आयोजनामा भएको कार्यक्रममा सहभागीहरु ।

झापा । पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् ।

यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति सकारात्मक नभएका कारण चौथो चरणको आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ । होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाले संयुक्तरुपमा आयोजना गरेको विरोधका कार्यक्रममा नगरका अन्य उद्योगी व्यवसायीहरूले समेत साथ दिएका छन् ।

होटेल र ट्राभलको नेतृत्वमा चौथो चरण अन्तर्गत हस्ताक्षर अभियान सुरु गरिएको छ । काँकडभिट्टा बसपार्कमा सुरु हस्ताक्षर अभियानमा एक हजार बढीको हस्ताक्षर सङ्कलन गरी १ नम्बर प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले बताउनुभयो ।

उहाँले विभिन्न व्यवसायीहरूको मागप्रति अब पनि समयमै सुनुवाइ नभए पुस १ गतेबाट आन्दोलनका कार्यक्रमलाई थप कडा पार्ने बताउनुभयो । तेस्रो चरणसम्मको शन्तिपूर्ण आन्दोलनमा सम्बन्धित पक्षको कानमा बतास नलागेपछि बाध्य भएर चौथो चरणको आन्दोलन रोज्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि उनीहरूले विरोध प्रदर्शन र्‍यालीदेखि स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउनेसम्मका कार्य गरेका थिए ।

कोभिड १९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने माग उनीहरूको छ ।

नाकाबन्दीका कारण सर्वसाधारणले समेत सास्ती व्यहोर्नु परेको बताउँदै उनीहरूले काँकडभिट्टाको बजार भारतीय ग्राहकमा भर पर्ने भएकाले नाकाबन्दीका कारण भारतीयहरु आउन नपाउँदा व्यवसाय नै चौपट्ट बनेको व्यवसायीहरूको भनाइ छ ।