नेपाली कांग्रेसले झापामा गरेको प्रदर्शनमा सहभागीहरु ।

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि सडक प्रदर्शन गरेको छ । वर्तमान सरकारको सर्वसत्तावादविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णयअनुसार कांग्रेस झापाका कार्यकर्ता सडकमा उतारेको हो ।

झापाको सुरुङ्गाबाट सुरु भएको विरोध ¥याली बिर्तामोड आएर कोणसभामा परिणत भएको थियो । सभालाई कांग्रेसका सह–महामन्त्री डा प्रकाश शरण महतले सम्बोधन गर्नुभएको थियो । उहाँले कम्युनिष्ट सरकार जनताको सरकार बन्न नसकेको आरोप लगाउनुभयो ।

वर्तमान सरकार भष्ट्रचारको पर्यायवाची बनेको आरोप लगाउँदै नेता महतले जनताको चहाना पूरा गर्न नसेकेको बताउनुभयो । ‘हरेक लगानीमा सरकार मोलतोल गरिरहेको छ’, महतले भन्नुभयो, ‘कहिले ओम्नी काण्ड कहिले के काण्ड सुनिन्छ, यो सरकार भष्ट्रचारको पर्याय नै बनेको छ ।’

सरकारका विरुद्धमा यो आन्दोलन प्रारम्भ मात्रै भएको भन्दै अब छिट्टै सडक र सदन दुई ठाउँबाटै आन्दोलन सुरु गर्ने बताउनुभयो । उहाँले तत्काल संसद वैठकको माग गर्दै जनजीविका, भष्ट्रचार र राष्ट्रिय मुद्धामा छलफल गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सोही सभामा कांग्रेस नेता केशवकुमार बुढाथोकीले कम्युनिष्ट सरकारले संविधानको संरक्षण गर्न नसकेको भन्दै अब संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो । उहाँले राप्रपाको आन्दोलनलाई लक्षित गर्दै मुलुकमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न नसकिने धारणा राख्नुभयो ।

‘मुठ्ठीभरको जुलुस निकालेर देशमा व्यवस्था परिवर्तन गर्न सकिँदैन’, नेता बुढाथोकीले राजावादीहरुलाई इगिं गर्दै भन्नुभयो, ‘राजा कतै गएका छैनन्, त्यसैले राजा आउ भनिरहनु पर्दैन ।’