शोकसन्तप्त शिक्षक परिवारको घरमा पुगेका स्थानीय वर्षेबासीहरु ।

मोरङ । गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर टाढा रहेको वर्षे गाउँमा झण्डै १२ घर परिवार बसोबास गर्दै आएका छन् ।द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको पकडमा रहेको उक्त गाउँमा पछिल्लो समय नेकपा माओवादी विप्लव समूहले पनि आफ्नो गतिविधि बढाउने प्रयास गरिरहेको छ ।

विप्लवका कार्यकर्ताले गरेको शिक्षक श्रेष्ठको हत्यालाई आफूहरूले पनि सोही रूपमा बुझेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् । यसअघि गत वर्ष पुस ६ मा पनि उक्त समूहले सोही पालिकाको किसानचौक-टाडी रमिते सडक निर्माणमा काम गर्दै गरेका तीनवटा स्काभेटरमा आगजनी गरेका थिए । शिक्षक श्रेष्ठको हत्यासँगै गाउँमा पूरै त्रास छाएको, घाँस दाउरा, मेलापात, गोठालो र खेताला गर्न जान समेत गाउँलेहरू डराइरहेको स्थानीय मनोहर आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठ बताउँछन् ।

गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला विप्लवका कार्यकर्ताले चलाएको र हत्या गरिएका शिक्षक श्रेष्ठसँग आफ्नो निकट सम्बन्ध रहेका कारण आफूलाई समेत गाउँ फर्किन गाह्रो भइरहेको मदनले बताए । शिक्षक श्रेष्ठको हत्यासँगै मदन पनि गाउँपालिकाको केन्द्र मधुमल्ला बजारतिर झरेका छन् । उक्त हत्यापछि गाउँका धेरै मानिस गाउँ छाडेर मधुमल्लातिर झरेको उनको भनाइ छ । गोरखापत्रबाट