प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरकाे फाइल तस्वीर ।

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ ।

अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आफू राजस्थानमा जन्मिएको बताउँदै आउनुभएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ ।

‘बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दैछ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौँ, अस्पताल आइपुग्दा निधन भइसकेको थियो’, मन्दिरका कर्मचारी राजेन्द्र महतले भन्नुभयो ।

उहाँको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो ।