बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २३ जनामा कोरोना भाइरस संक्रमण हुँदा २ जनाको ज्यान गएको छ । थपिएका २३ जनामध्ये ७ जना महिला र १६ जना पुरुष छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार थपिएकामध्ये दमक नगरपालिकाका एक महिलासहित ७ जना, कमल गाउँपालिकाका एक महिलासहित ५ जना र भद्रपुर नगरपालिकाका २ महिलासहित ३ जना रहेका छन् ।

यसैगरी, बिर्तामोड नगरपालिकाका २ जना पुरुष, मेचीनगरपालिकाका १ महिला र १ जना पुरुष, शिवसताक्षी र अर्जुनधारा नगरपालिकाका १-१ जना महिला, बुद्धशान्ति र बाह्रदशी गाउँपालिकाका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

बितेको २४ घण्टाभित्र दमक र शिवसताक्षी नगरपालिकाका २ जना पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । दमक ३ का ४० वर्षीय र शिवसताक्षी १० का ८३ वर्षीय बृद्धको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार थपिएका २३ जनासँगै झापामा कुल संक्रमितको संख्या ४ हजार ३७४ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या ३ हजार ७१२ रहेको छ । सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या ५३७ रहँदा होम आइशोलेसनमा ५३० जना रहेका छन् ।

झापामा हालसम्म ३४ हजार ६९० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणका कारण जिल्लामा १२५ जनाले ज्यान गुमाएका छन् ।