डाका मुद्दाबाट फरार प्रतिवादी राईलाई सार्वजनिक गरिँदै ।

भद्रपुर । डाका मुद्दाका एक फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् । जेल चलान हुनेमा मेचीनगर १० का ४८ वर्षिय देशबहादुर राई रहेका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ २१ गतेको फैसलाअनुसार डाका मुद्दाका प्रतिवादी राईलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । उनले राखेको धरौटीबाट जरिवाना सदर भएको र कैदको हकमा २३ दिन असुल भई बाँकी ५ महिना ७ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए ।

खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज आफ्नै घरबाट उनलाई पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीले विभिन्न मुद्दा लागेर फरार रहेका २२ जनालाई मंसिर महिनामा पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।