बरतलाल राजवंशी,
कुमरखोद । हुलाकी राजमार्गको झापा–मोरङ सडकखण्ड अन्तर्गतको झापा गाउँपालिकामा सडक निर्माण कार्य तिव्र रुपमा शुरु भएको छ । जसबाट झापा गाउँपालिकामा आशा र उत्साह थपिएको छ ।

सरकारले ६ भागमा विभाजन गरी झापा र मोरङमा हुलाकी राजमार्गको ठेक्का लगाएसँगै झापाको राजगढदेखि मेची पुलसम्म कालोपत्रे पिचको काम सम्पन्न भईसकेको छ । राजगढदेखि रतुवा पुलसम्मको २८ किलोमिटर सडकखण्डको निर्माण गर्ने ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सन कम्पनीले कामलाई तिव्रता दिएको हो । पहिलो चरणअन्तर्गत पानी निकासको लागि कल्भर्टहरु निर्माण भइसकेको र दोस्रो चरणमा राजमार्गको दुवैपट्टि नाला बनाउने कामलाई तिव्रता दिएको इन्जिनियर सन्दिप शाक्यले बताए ।

शाक्यका अनुसार हुलाकी राजमार्ग अन्तर्गत राजगढदेखि रतुवा पुलसम्म मोतीदान कन्स्ट्रक्सनले २८ कि।मी। बाटो निर्माण गर्नका लागि ७५.५ करोड रुपैयाँमा ठेक्का पाएको हो । २०७६ साल असोेज २४ गते संझौता गरेको कम्पनीले काम सम्पन्न गर्ने मिति २०७९ साल असोज २४ गते रहेको छ । ईन्जिनियर शाक्यले अहिले ३ वटा कम्पनीहरु मोतीदान कन्स्ट्रक्सन, पिएस कन्स्ट्रक्सन र गजुरमुखी कन्स्ट्रक्सन कम्पनीले मिलेर हुलाकी राजमार्गको कामलाई तिव्रता दिएको बताए ।

झापा गाउँपालिकाले संघीय सरकार सडक डिभिजन निर्देशनालयको निर्देशनमा सडकको केन्द्रविन्दुदेखि १५-१५ मिटर बाटो खाली गर्नुपर्नेमा गाउँको बाटो सानो हुने भएकोले १२-१२ मिटर सडक खाली गर्ने काम धमाधम भईरहेको छ । त्यस्तै झापा बजारलाई भविष्यमा स्मार्ट सिटी बनाउने उद्धेश्यले रजत जयन्ती चोकदेखि १५ सय मिटर टाढा पंचम चोकसम्म हुलाकी राजमार्गको केन्द्रविन्दुवाट १५-१५ मिटर सडक खाली गराउने काम धमाधम भईरहेको अध्यक्ष जयनारायण शाहले बताए । अध्यक्ष शाहले हुलाकी सडक विस्तारले झापा गाउँपालिकाको विकासमा ठूलो टेवा पुग्ने बताए ।

‘यहाँका जनतालाई प्रदेश नं १ को राजधानी विराटनगर जान नजिक हुने, सदरमुकाम चन्द्रगढी र भद्रपुर काम गर्न सजिलो हुने, किसानले उब्जाएको उत्पादनहरु सहजै भद्रपुर र विराटनगर पठाउन सक्नेछन्’, उनले भने । हुलाकी सडकको निर्माणले झापा गाउँपालिकाको मुहार परिवर्तन हुने कुरामा अन्य जनप्रतिनिधि पनि आशावादी देखिएका छन् । झापा गाउँपालिका वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर खड्का भन्छन्, ‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्यांकन बढ्छ, झापा बजार स्मार्ट सिटी बन्छ र जनताले यातायातको सुविधा पाउँछन् ।’

त्यसैगरी वडा नं ४ का वडाध्यक्ष राजु भारतीले हुलाकी राजमार्ग बनेपछि स्थानीय जनतालाई यातायातको सुविधा मिल्ने बताए । ‘जग्गा जमिनको भाउ वढ्छ, वसोवास बढ्छ’, उनले भने, ‘जिल्ला र प्रदेश धाउन सजिलो हुन्छ, कल-कारखानाहरु खोलिन्छन् अनि बेरोजगारी घटेर आउँछ ।’

झापा गाउँपालिका वडा नं १ का समाजसेवी माधवकुमार पोखरेलले पनि हुलाकी बाटो निर्माण भएपछि स्थानीय वासिन्दाहरुलाई आवतजावत गर्न सजिलो हुनेसँगै सदरमुकाम र प्रदेशको राजधानी विराटनगर पुग्न सहज हुने धारणा राखे ।

पूर्व-पश्चिम हुलाकी राजमार्गले तराईका २० जिल्लाहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।पूर्वमा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनी सम्मको भू-भागलाई यसले जोड्ने छ । १७९२.४२ किमी लम्बाईमा कालोपत्रे हुनेछ भने साना ठूला गरी १२५ वटा पुल निर्माण हुने छन् ।