बिर्तामोड । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग जुट्ने क्रम निरन्तर जारी छ । अक्षयकोष बृद्धिका लागि शनिबार एकैदिन दुईवटा संस्थाले सहयोग प्रदान गरेका छन् ।

अक्षयकोषमा सहयोग गर्नेक्रममा बिर्तामोड नगरपालिका सैनिकमोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले १५औं बार्षिक साधारणसभाको अवसर पारेर कोषमा २१ हजार नगद सहयोग गरेको हो । साधारणसभाका प्रमुख अतिथि बिर्तामाेड ३ का वडाध्यक्ष भोजराज सिटौलाले सहकारीद्वारा प्रदान गरिएको नगद राशी नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी र अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक रेजिना गौतमलाई हस्तान्तरण गरेको सहसचिव सुशिला संग्रौलाले जानकारी दिइन् ।

सोही कार्यक्रममा उक्त अक्षयकोषका लागि विराट सामुदायिक अध्ययन केन्द्रले पाँच हजार एकसय रुपैयाँ सहयोग प्रदान गरेको छ । विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटी, संयोजक गौतमसहितको टोलीलाई रकम प्रदान गरेका थिए ।

यसैगरी बिर्तामोडस्थित निश्चल फार्मेसीका संचालक चन्द्रा श्रेष्ठले अक्षयकोषका लागि ३१ हजार रुपैयाँ प्रदान गरेकी छन् भने नारी सञ्चार गृहका कार्यसमिति सदस्य सुनिरा मैनालीले आफूले पत्रकारिता शुरु गरेको आठौं वर्षगाँठको अवसर पारेर आठ हजार आठसय ८८ रुपैयाँ प्रदान गरेकी छन् । विवाहमा शुभकामना दिन पुगेको नारी सञ्चार गृहका अध्यक्षसहितको टोलीलाई मैनालीले उक्त रकम प्रदान गरेकी हुन् ।

अक्षयकोष बृद्धिका लागि सहयोग गर्ने क्रममा भट्टराई कुल बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र बिर्तामोड साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका उपाध्यक्ष पर्शुराम सिटौलाले पाँच-पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको नारी सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिइन् ।

भट्टराई कूल बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भट्टराईले सञ्चार गृहका अध्यक्ष शिवाकोटी र संस्थापक अध्यक्ष सावित्रा दाहाललाई दमकमा र उपाध्यक्ष सिटौलाले अध्यक्ष शिवाकोटीलाई नगद हस्तान्तरण गरेको सञ्चार गृहका कोषाध्यक्ष ज्योस्ना श्रेष्ठले जानकारी दिइन् । महिलाका क्षेत्रमा काम गर्ने उद्देश्यले २५ लाखको अक्षयकोष स्थापनाको लक्ष्य राखेको नारी सञ्चार गृहको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग १४ लाख रुपैयाँ संकलन भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक रेजिना गौतमले जानकारी दिएकी छन् ।