डायलासिस गराउने पैसा नभएर मिडियासमक्ष आएका राजेश सुन्दास ।

अर्जुनधारा । दुवै मिर्गौला पीडित राजेश सुन्दासले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । अर्जुनधारा ७ निवासी ४७ वर्षीय राजेशले आर्थिक अवस्था कमजोर भएकाले सबैसँग सहयोगको अपिल गरेका हुन् ।

डेढ वर्षअघि कलेजोमा समस्या देखा परेपछि उपचार गर्ने क्रममा एक वर्षदेखि मिर्गौलामा समस्या देखा परेको उनका भाइ विकास सुन्दासले बताए । सामान्य आर्थिक अवस्था भएका दाजुको उपचार गर्ने क्रममा अहिलेसम्म १२ लाखभन्दा बढी खर्च भएको भाइ विकासले बताए ।

‘अहिलेचाहिँ डायलासिस गर्नेसम्म पैसा नभएपछि सबैसँग आर्थिक सहयोगका लागि हारगुहार गर्नु परेको हो’, विकासले भने । सातामा दुई पटक डायलासिस गर्नुपर्ने र एक पटकमा कम्तिमा ५ हजार खर्च हुने उनले सुनाए । यसअघि नोवेल हस्पिटल विराटनगरमा डायलासिस गराउँदै आएका राजेश सुन्दासको आजदेखि मेची अस्पताल भद्रपुरमा गरिने भएको छ ।

अर्जुनधारा मन्दिर नजिकै टेलरिङ पेसा गर्दै आएका दुवै मिर्गौला पीडित राजेश थला परेपछि बाँकी परिवारका चार सदस्यको पनि हातमुख जोड्न समस्या रहेको छ । डायलसिस गराउनै समस्या भएपछि सुन्दास परिवार मिडियासमक्ष पनि आएका हुन् ।

यसैबीच, डायलासिस गर्न नै समस्या पर्न थालेपछि स्थानीय छरछिमेक मिलेर राजेश सुन्दास बचाउ अभियान आर्थिक संकलन समिति गठन गरिएको छ । सामाजिक अभियन्ता कमल पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । जसमा हरिभक्त बराल, रमेश तिखत्री, राजु दाहाल र इशान पौडेल सदस्य छन् ।

आर्थिक संकलन समितिले आजैदेखि काम सुरु गर्ने बताउँदै संयोजक पोख्रेलले सबैसँग सहयोगको अपिल पनि गरेका छन् । उनका अनुसार मिर्गौला दाता फेला परेको खण्डमा त्यसका लागि पनि समितिले पहल गर्ने भएको छ । राजेश सुन्दासलाई सहयोग गर्नका लागि एनआईसी एसिया शनिश्चरे शाखाको खाता नम्बर २११५७५१०३३८४९००१ रकम पठाउन सकिने संयोजक पोख्रेलले बताए ।