केरखा । कमल गाउँपालिका ४ स्थित शान्तिपुर चोकका सात वर्षीय मिर्गौला पीडित बालकको उपचारका लागि साउदी अरबमा संकलित रकम सोमबार हस्तान्तरण गरिएको छ ।

वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब पुगेका नेपालीहरुबाट संकलित ९३ हजार रुपैयाँ सात वर्षीय बालक एलन नेम्बाङको परिवारलाई हस्तान्तरण गरिएको हो । साउदी अरबमा रहेका बुद्धशान्ति ३ झापाका धनपाल नेम्बाङको पहलमा संकलन गरिएको उक्त रकम उनका छोरा विशाल नेम्बाङले सोमबार बालकका बुवा कृष्ण लिम्बूलाई हस्तान्तरण गरे ।

गत भदौ महिनामा अचानक बिरामी परेका बालकको दमकमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला खराब भएको पत्ता लागेको थियो । उनका आमा हिमाकुमारी शेर्माका अनुसार थप उपचारका लागि धरान र ललितपुर लगेर अहिले घरमै राखिएको छ ।

बुबा कृष्ण पनि वैदेशिक रोजगारीमा रहेका बेला छोरामाथि विपद आइपरेको हो । उनका बुबा भर्खरै कुवेतबाट नेपाल आएका छन् । अहिलेसम्म २२ पटक डायलासिस गराइसकेका नेम्बाङ परिवारले करिब २५ लाखजति खर्च भइसकेको बताए ।

ललितपुरको सुमेरु हस्पिटलमा उपचार गराउँदै आएका उनीहरुले हस्पिटलको निर्देशनअनुसार महिना महिनामा औषधि गर्दै आएका छन् । सुमेरु हस्पिटलको उपचारपछि छोराको स्वास्थ्यमा केही सुधार आएको बुबा कृष्णले बताए ।

स्थानीय विद्यालयको कक्षा १ मा अध्ययनरत बालक एलनको उपचारका लागि विभिन्न संघसंस्थाले पनि सहयोग जुटाउँदै आएको बताइएको छ । साउदीमा रहेका ५६ जना नेपालीबाट संकलित रकम उपचारका लागि पाएपछि बालकका बुबा कृष्णले सबै सहयोगी नेपालीलाई धन्यवाद दिएका छन् ।