लायन्सद्वारा सम्मानित तीन प्रतिभाहरु ।

बिर्तामोड । झापाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार बिर्तामोडमा डिस्ट्रिक्ट गभर्नर सम्मान कार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान गरिएको छ ।

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ नेपाल मल्टिपल काउन्सिल चियर पर्सन सेकेन्ड सेन्चुरी एम्बासडर इन्द्र खत्री राजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ क्लब बिर्तामाड स्मार्ट लेडीलाई सदस्यता प्रदान गरिएको थियो । त्यस्तै, नौवटा क्लबका दुई दर्जन नयाँ सदस्यलाई लायन्स पिन प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि खत्रीले लायन्सको उद्देश्य सेवा गर्नु भएकाले शुद्ध मनले सबै लायन्स सदस्यहरुलाई सेवाको कार्यमा दत्तचित्त भएर लागिपर्न आग्रह गरे । त्यस्तै, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए१ का डिस्ट्रिक्ट गभर्नर टंकबहादुर श्रेष्ठ, जिएसटी मल्टिपल कोअर्डिनेटर सेकेन्ड सेन्चुरी एम्बासडर अनन्तप्रसाद भेटवाल, ३२५ ए१ का फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की, ३२५ ए१ का सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर कर्मा गुरुङ, मल्टिपल चियर लीलाकुमार ढुंगेलले शुभकामना व्यक्त गरेका थिए ।

३२५ ए१ का डिस्ट्रिक्ट कोअर्डिनेटर लीलाप्रसाद चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा नौवटा क्लबका झन्डै दुई सय लायन्स सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना लायन्स क्लबहरु कनकाई सुरुङ्गा, शिवसताक्षी, बिर्तामोड, बिर्तामोड सिटी, बिर्तामोड लेडी, धाइजन चारआली, भद्रपुर, मेचीनगर र अनारमनीले संयुक्त रुपमा गरेका थिए ।

पत्रकार पाण्डेसहित तीन सम्मानित
यसैबीच, कार्यक्रमको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड सिटीले तीनजनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, साहित्यकार भगवती ढुंगेल र क्लब स्थापनामा महत्वपूर्ण भूमिका खेलेका रिजन चियरपर्सन रुपनारायण खतिवडा रहेका छन् ।

सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो । क्लबले प्रत्येक वर्ष समाजका विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्ने योजना बनाएको छ । एरिया कोअर्डिनेटर सत्यनारायण शर्माले सहजीकरण गरेको कार्यक्रममा लायन्सका दुई पूर्वअध्यक्षहरु लीलाप्रसाद चिमरिया र नीरज ओलीलाई लायन्स इन्टरनेसनलबाट प्रदान गरिएको बेस्ट प्रसिडेन्ट अवार्डको मेडल उपलब्ध गराइएको थियो ।