शनिश्चरे खुदुनाबारी सडक खण्डको गढी क्षेत्रमा स्थानीयले गरेको सडक अवरुद्ध ।

अर्जुनधारा । अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे-खुदुनावारी सडक अलपत्र परेको छ । निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो ।

सडक भत्काएर निर्माण नभएपछि सो क्षेत्रका सर्बसाधारणले सास्ती ब्यहोरिरहेका छन् । भौतिक पूर्वाधार विकास कार्यालयको ९ करोड रुपैयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो । कञ्चनजंघा-शेर्पा-कञ्चनजंघा जेभी सडक निर्माणको ठेक्का पाएको थियो ।

२०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भए पनि बजेट निकासा नहुँदा सडक निर्माण कार्य अलपत्र परेको हो । समयमा काम सक्न दवाव आएपछि ठेकेदार संस्थाले सब-बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनिका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए ।

यतिबेला स्थानीयले धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै सडकमा बाँस तेस्र्याएर अवरोध गरेका छन् । निर्माणको काम किन अलपत्र पारेको ? भन्ने प्रश्नमा शेर्पाले आफू रकम भुक्तानीका लागि मन्त्रालयमा रहेको बताएका थिए । ‘लगभग १ करोड रकम भुक्तानी पाउन माग गर्दै मन्त्रालय धाइरहेको छु’, शेर्पाले भने’ ‘आफूसँग भएको रकम खर्च गरिसकेको हुनाले रकम अभावमा काम अघि बढ्न नसकेको हो ।’

सडक निर्माणको सम्झौता सकिएको ६ महिना बिते पनि काम भने ५० प्रतिशतको हाराहारीमा मात्र भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अन्तरगतको सो सडक स्तरोन्नतिको ठेक्का करीब ९ करोडमा ठेक्का लागेको थियो । झापा आन्दोलनका योद्धाको सहादतस्थल सुखानी पार्कहुँदै इलाम जोडिने यो सडक वर्षौदेखि हिउँदमा धुलाम्मे र बर्षातको समयमा हिलाम्मे छ ।

जनप्रतिनिधिले उक्त सडक निमार्णका लागि चासो नदेखाएको स्थानीयको दुःखेसो छ । तर, समयमा सडक नबन्दा स्थानीय सरकारप्रति सर्वसाधारणको आक्रोश बढेको छ । संघीय सरकारले प्रदेश सरकारको मातहतमा सडक निर्माण गर्ने भए पनि समयमा निर्माण सम्पन्न नहुँदा स्थानीय तहसँग सरोकारवाला आक्रोशित छन् ।

सरकारले बजेट समयमा नै निकासा नगरेकै कारण निर्माण कम्पनीले पनि काममा चासो देखाएको छैन । अर्जुनधारा नगरपालिकाले धुलाम्मे उक्त सडकमा धुलो मार्नका लागि पानी हाल्ने र बर्खाको समयमा हिलो हुँदा बालुवा गिट्टी हाल्ने काम गर्दै आएको नगरप्रमुख हरिकुमार राना बताउँछन् । नगरले उक्त सडक समयमा सम्पन्न गर्नका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरे पनि सुनवाई नभएको जनाइएको छ ।

‘सम्झौता समय अवधिभित्र उक्त सडक निर्माण नहुँदा यात्रु तथा स्थानीयले सास्ती बेर्होनु परेको छ’, नगरप्रमुख राना भन्छन्, ‘नगरले प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद बृख प्रधानसहित पटक-पटक पहल गरे पनि सडक निर्माणमा अर्थ मन्त्रालयबाटै चासो देखाइएको छैन ।’

स्थानीयले समय सम्झौताभित्रै सडक निर्माण गरिनु पर्ने र धुलोका कारण सास्ती बेर्होनु परेको भन्दै लामो समयदेखि पटक पटक सडक बन्द गरे पनि सुनवाइ भएको छैन । दक्षिणी इलामलाई झापासँग जोड्ने बैकल्पिक यो सडक समयमा नै निमार्ण हुन सके जिल्लाबासीलाई सहजता पुग्ने छ ।

अहिले शनिश्चरे-खुदुनाबारी सडकको नारायण चोक, गढी, खुदुनाबारी खण्डमा स्थानीयले बाँसका ढाटदेखि टायर र इँटा राखेर अवरुद्ध गरेका छन् । यहाँका पाँच स्थानमा स्थानीयले सडक अवराेध गरेका छन् ।