सुजता सुनुवार,
इलाम । इलाममा चार सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१७ देखि अहिलेसम्म जिल्लामा मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना भएका हुन् । यी घटनामध्ये सबैभन्दा बढी आत्महत्याको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

इन्सेक जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा इलामकी अध्यक्ष कोकिला ढकालले त्यस अवधिमा जिल्लामा बलात्कार, बहुविवाह, घरेलु हिंसा, आत्महत्या, कुटपिट, बालविवाह, जातीय विभेद, बलात्कारपछि हत्या, हत्या र मानव बेचबिखन जस्ता मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना घटेको जानकारी दिनु भयो ।

उहाँका अनुसार, सन् २०१७ मा एक सय ७८, २०२० मा एक सय ४०, २०१८ मा एक सय ३७ र २०१९ मा ३३ घटना घटेका छन् । जसमा आत्महत्याका दुई सय ६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचविखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई-दुई र बालविवाह एक रहेका छन् ।

घटना बढ्दो
अभिलेखित घटना गएको वर्षको तुलनामा यो वर्ष बढेर गएको देखिन्छ । सन् २०२० मा एक सय ४० घटना छन् भने सन् २०१९ मा ३३ वटा मात्रै रहेको इन्सेकको अभिलेखमा उल्लेख छ । यो तथ्याङ्कका आधारमा उल्लङ्घनका घटना एक सय सातले बढेको देखिन्छ ।

जसमा यस वर्ष सबैभन्दा बढी आत्महत्याका घटना छन् भने सबैभन्दा कम जातीय विभेदको घटना छ । गएको वर्ष शून्य रहेको यो घटना यस वर्ष बढेर एक सय १४ पुगेको छ । यस्तै जातीय विभेदको घटना पनि गएको वर्ष शुन्य रहेको इन्सेकले जानकारी दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्ने अन्तर्क्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले केही घटना अभिलेखीकरण गर्नबाट छुटेको बताउनुभयो । मानवीय सुरक्षालाई ध्यान दिने क्रममा पनि यस्ता घटना सार्वजनिक गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) का कारण लागुऔषध प्रयोगकर्तामा उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ र स्वास्थ्य बीमा गरेका बीमितले औषधि नै नपाएको उदाहरण छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर १ का उपाध्यक्ष सोम सुसेलीले तथ्याङ्कमा यसलाई पनि समावेश गर्न सके राम्रो हुने सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले मानव उल्लघङ्नका घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्दै जिल्लामा बल प्रयोगसम्बन्धीका तालिम दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तालिम दुई पटक भयो दिएको, यस तालिमले घटना घटाएर जेल सजाय भोगिरहेका व्यक्तिलाई प्रहरीले मायालु व्यवहार गर्न सिकाउँछ ।’

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेले मानवअधिकार उल्लङ्घनका घटनाबारे सक्रिय भइ जानकारी लिइरहेको बताउनुभयो । अन्तर्क्रियाबाट आएका सुझावलाई समेत आउँदो वर्ष समेट्ने उहाँको भनाइ छ । इन्सेकले मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरेर वर्ष पुस्तक प्रकाशन गर्ने गरेको इन्सेक जिल्ला प्रतिनिधि कोकिला ढकालले जानकारी दिनुभयो ।

मानवअधिकार वर्ष पुस्तक २०२० पूर्ववार्षिक समीक्षा तथा मानवअधिकारको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा विभिन्न सङ्घसस्था, सम्बन्धित निकाय, सरोकारवाला, पत्रकारलगायतको सहभागिता थियो । मानव अधिकार मञ्च नेपाल इलामले यस कार्यक्रमको आयोजना गरेको हो ।