झापा । जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर-२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड-५ का २१ वर्षीय सञ्जय तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले राई र बस्नेतलाई बुधबार बेलुका भद्रपुर-३ स्थित झोलुङ्गे पुलबाट मे २ प. ४३१८ नंको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा स्कुफ सिरप १०, नाइट्रोजन १०४ पिस, उइनपास मोफोट ७२ पिस, लुपिजेसिक आठ एम्पुल, फेनरागन आठ एम्पुल, डाइजेपाम आठ एम्पुल र गाँजा २०० ग्राम बरामद गरेको थियो ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ । त्यस्तै विर्तामोड-१ स्थित शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मे ८ प. ३४२८ नंको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको छ ।

मोटरसाइकल चालक विर्तामोड-५ का तामाङले शरीरका विभिन्न भागमा लुकाइछिपाई ल्याउँदै गरेको २६ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रनाउ थापाले जानकारी दिए । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । रासस