झापा । कनिका कपुर भारतमा कोरोना भाइरसको संक्रमण हुने पहिलो सेलेब्रिटी थिइन् । अहिले कनिकाले आफू संक्रमित भएपछि कस्तो-कस्तो आलोचना सहनुपर्यो भनेर खुलासा गरेकी छन् । कनिका कपुर कोरोना संक्रमित भएको खबर मार्च २०२० मा आएको थियो । त्यतिबेला उनले चर्को आलोचनाको सामना गर्नुपरेको थियो ।

कनिका यो वर्ष सबैभन्दा धेरै गुगलमा सर्च गरिएकी सलेब्रिटीको सूचीमा पनि पर्न सफल भएकी छन् । अहिले पुनः आफ्नो काममा फर्किएकी कनिकाले त्यतिबेलाको आफ्नो अनुभव साझा गरेकी हुन् ।

लाचार थिएँ
स्पटब्वाइसँग दिएको अन्तरवार्तामा उनले भनेकी छन्, ‘त्यो समय निकै कठिन थियो । मेरो लागि मात्र नभएर मेरो परिवारका लागि । किनभने हामीलाई थाहा नै थिएन, हामीसँग के हुँदैछ । पुरै मिडिया र मानिसहरु हाम्रोविरुद्ध भएका थिए, त्यो पनि त्यस कुराका लागि जसबारे हामी जानकार पनि थिएनौँ । म निकै लाचार महसुस गरिरहेको थिएँ । ममाथि कयौँ आरोप लगाइयो । मेरो बारेमा लेख्नुभन्दा वा टिप्पणी गर्नुभन्दा अघि कम से कम मसँग सत्य के हो भनेर सोध्नुपर्थ्यो । अफवाहको आधारमा तपाईं कसैमाथि आरोप लगाउनुहुन्छ ?’

कनिकाले थपिन्, ‘जब म मार्च ९ मा फर्किए, भारतमा क्वारेन्टिनको नियम लागू थिएन । १० मार्चमा सबैले होली खेले । त्यसपछि म आमा-बुवाकोमा लखनऊ गएँ । त्यसपछि १६-१७ मार्चमा मलाई ज्वरो आउन थाल्यो । त्यसपछि मैले स्वास्थ्य परीक्षण गराउँदा २० मार्चमा नतिजा पोजेटिभ आयो । यदी मलाई थाहा भएको भए के म मेरो परिवार, विशेष गरेर मेरो ९० वर्षकी हजुरआमा, को जीवनलाई खतरामा पार्थे होला र ? मानिसहरुले मलाई विमानस्थलमा चेकजाँच नगरेको र नियम पालना नगरेको आरोप लगाए ।’

‘म निकै दुःखी र परेशान थिएँ किनभने मलाई ज्यान मार्ने धम्कीसम्म आइरहेको थियो । मानिसहरुले म मरे पनि हुन्थ्यो भन्थे । कयौँले मेरो करियर खत्तम भयो भनेर भने,’ उनले भनिन्, ‘कसैले यो सोचेनन् कि म एकल आमा पनि हुँ । आफ्नो छोराछोरीभन्दा टाढा रहेर कडा मिहिनेत पछि मैले आफ्नो करियर बनाएको हुँ । तर, एकै दिनमा मानिसहरु भन्दै थिए कि मेरो करियर खत्तम, जीवन खत्तम, तपाईं मर्नुहोस् ? यो कठिन समय थियो तर मेरो परिवार मेरो साथमा थियो । त्यो समय गुज्रियो र म पनि अघि बढेँ ।’ दैनिक भास्कर