मिर्गाैला पीडित राजेश सुन्दासलाई रकम हस्तान्तरण गर्दै समितिका एक सदस्य ।

अर्जुनधारा । दुवै मिर्गौला पीडित राजेश सुन्दासलाई स्वास्थ्य उपचारका लागि नगद २५ हजार सहयोग उपलब्ध भएको छ । अर्जुनधारा ७ निवासी सुन्दासलाई सहयोगीबाट संकलित रकम उपलब्ध गराइएको हो ।

उपचारमा समस्या आएपछि राजेश सुन्दास बचाउ अभियानअन्तर्गतको आर्थिक संकलन समितिले संकलन गरेको रकम आज हस्तान्तरण गरिएको हो । गएको पुस ६ गते ४७ वर्षीय सुन्दासले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेपछि सामाजिक अभियन्ता कमल पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको थियो ।

डेढ वर्षअघि कलेजोमा समस्या देखा परेपछि उपचार गर्ने क्रममा एक वर्षदेखि मिर्गौलामा समस्या देखा परेको उनका भाइ विकास सुन्दासले बताएका छन् । सामान्य आर्थिक अवस्था भएका दाजुको उपचार गर्ने क्रममा अहिलेसम्म १२ लाखभन्दा बढी खर्च भएको भाइ विकासले बताए । ‘अहिलेचाहिँ डायलासिस गर्नेसम्म पैसा नभएपछि सबैसँग आर्थिक सहयोगका लागि हारगुहार गर्नु परेको हो’, विकासले भने ।

उनका अनुसार सातामा दुई पटक डायलासिस गर्नुपर्ने र एक पटकमा कम्तिमा ५ हजार खर्च हुने गरेको छ । अर्जुनधारा मन्दिर नजिकै टेलरिङ पेसा गर्दै आएका दुवै मिर्गौला पीडित राजेश थला परेपछि बाँकी परिवारका चार सदस्यको पनि हातमुख जोड्न समस्या रहेको छ । विदेशमा रहेका र स्थानीय शनिश्चरे, अर्जुनधारा क्षेत्रमा संकलित रकम हस्तान्तरण गरिएको संयोजक पोख्रेलले जानकारी दिए ।

संयोजक पोख्रेलले सबैसँग सहयोगको अपिल गर्दै राजेश सुन्दासलाई सहयोग गर्नका लागि एनआईसी एसिया शनिश्चरे शाखाको खाता नम्बर २११५७५१०३३८४९००१ मा रकम पठाउन सकिनेछ ।