सदरमुकाम फुङलिङबाट देखिएकाे पाथीभरा मन्दिर परिसरमा धुँवाकाे मुस्लाे ।

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा पाँच दिनदेखि लागेको आगलागीले अझै ठुलो रुप लिएको छ । आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगो आज विहान मन्दिर परिसरमा नै पुगेको छ ।

आगो आज विहान एक्कासी बढेर मन्दिर परिसरमा नै पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ । मन्दिर छेउमै आगो पुगे पनि त्यस क्षेत्रका रुखपात हटाइएकाले र सल्किहाल्ने अरु संरचना नभएकाले मन्दिरभित्रै आगो पस्ने सम्भावना भने नरहेको बताइएको छ ।

आगो नियन्त्रणमा नआएपछि मन्दिरको सुरक्षाका लागि स्थानीयबासी र तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । मानवीय प्रयासबाट आगो नियन्त्रणका लागि हदैसम्मको कार्य भएको र आइतबार आंशिक नियन्त्रणमा आएको थियो । तर, आज विहान हावा चलेकाले थप आगो सल्किएर ठुलो रुप लिएको स्थानीयले बताए ।

विहिबार फुङलिङ नगरपालिका ११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक बनबाट आगालागी सुरु भएको थियो ।आगगलागी भएको क्षेत्र मुख्यगरी वन्यजन्तु रेडपाण्डाको बास स्थानका रुपमा लिने गरिएको छ । आगलागीले बहुमूल्य जडिबुटी तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएका छन् । आगलागीको कारण समेत खुलेको छैन ।

यस्तै बन्यजन्तु साथै उनीहरुको बासस्थानमा समेत असर पुगेको छ । यता आगलागीका कारण खानेपानीको पाईप जल्दा माथिल्लो फेदीका स्थानीयबासी भने समस्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको झण्डै ४ सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ ।