झापा क्षेत्र नम्बर २ काे अर्जुनधारास्थित शनिश्चरेकाे विराेध सभा ।

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र विरोध सभा सम्पन्न गरेको छ ।

विरोध प्रदर्शन तथा विरोध सभाका अधिकांश बक्ताहरुले नेपालको राजनीतिक इतिहासमा २०१७ साल पुस १ र २०७७ साल पुस ५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन् । नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्त गर्दै २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि ‘कू’ गरेका थिए ।

नेकपाको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपब्याख्या गर्दै गत पुस ५ गते प्रतिनिधि सभाभङ्ग गर्ने निर्णय मन्त्रिपरिषदबाट गरेका थिए । मन्त्रिपरिषदको उक्त निर्णयलाई राजनीतिक दलका प्रमुख तथा संविधानविद, कानूनविदसँग छलफल नै नगरी तत्कालै राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त असंवैधानिक कदमका विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ ।

झापा क्षेत्र नं ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले संविधानको संरक्षण अहिलेको प्रमुख दायित्व रहेको बताउँदै संविधानको रक्षापछि लोकतान्त्रिक विधि र पद्धतिबाटै ओलीलाई पाखा लगाउने धारणा राखे । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन अघि बाँडेका कुन चाहिं सपना पूरा गरे ?’, नेता रिजालले प्रश्न गरे ।

यता झापा क्षेत्र नं २ को शनिश्चरे बजारमा भएको विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेकपाभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेको बताउँदै उक्त असंवैधानिक कदम अस्वीकार्य रहेको बताए ।

‘संविधानको तोडमोड गरेर धेरै वर्ष शासन गर्ने ज्ञानेन्द्रको सपना धेरै समय टिकेन’, शिवाकोटीले भने, ‘केपी ओलीले पनि यस्तै सपना देखेका हुन सक्छन्, यो केवल सपना मात्रै हुनेछ ।’ कम्युनिष्ट तानाशाह लाद्ने अभ्यास नगर्न प्रधानमन्त्रीलाई चुनौति दिँदै नेता शिवाकोटीले भने, ‘अहिलेको सडक संघर्ष असंवैधानिक कदमका विरुद्ध हो, निर्वाचनका लागि पनि कांग्रेस तयार छ । कांग्रेस नेतृत्वकै सरकारले संविधान निर्माण गरेको हो, यसको संरक्षणको दायित्व पनि कांग्रेसकै काँधमा छ ।’

अर्का वक्ता नेपालीकांग्रेस झापाका सभापति उद्वव थापाले सरकारको असंवैधानिक कदम र कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका विरुद्ध कांग्रेस सडकमा आएको बताउँदै भ्रष्टाचारको सबै हिसाव किताब सडकबाटै माग्ने उद्घोष गरे । सभापति थापाले प्रश्न गरे, ‘बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाही गर्नु पर्दैन ? भ्रष्टाचारका काण्डैकाण्डको छानवीन गर्नुपर्दैन ? भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नु पर्दैन ?’

यसैगरी झापा क्षेत्र नं १ को धुलाबारीमा आयोजित विरोध सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले वर्तमान सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाउँदै असंवैधानिक काम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाइन् ।

यसैगरी झापा क्षेत्र नं ३ कचनकबलको बनियानीमा कांग्रेसका केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले सम्बोधन गरेको विरोध सभामा महासमिति सदस्य द्वयभगिरथ पोद्धार र भुमीप्रसाद राजवंशी, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल आचार्य, प्रदेश सभापति चिन्तामणि खरेल लगायतले बोलेका थिए ।

यता झापा दूधे बजारमा ४ नं क्षेत्रस्तरीय प्रदर्शन र विरोध सभा सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी प्रमुख अतिथि तथा प्रमुख वक्ता रहेको कार्यक्रम क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।