इलाम । मेची राजमार्गअन्र्तगत इलाम खण्डका विभिन्न स्थानमा सडक भत्किएर जीर्ण बनेका छन् । करोडौं लगानी गरेर बनाइएका सडक क्षतिग्रस्त भएर सवारी साधन मात्र नभइ यात्रुले पनि समस्या भोग्नु परेको छ भने पटक पटक भएको लगानीले पनि सडकको अवस्था सुधार हुन सकेको छैन ।

इलाम नगरपालिकाको माइखोला राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर खण्डमा पर्ने मेची राजमार्ग अहिले धेरै स्थानमा बिग्रिएको छ । कालोपत्रे भत्किएर सडकमा ठूला ठूला खाल्डा परेको छ भने कतिपय स्थानमा सडक भासिएर आधाभन्दा बढी भाग क्षतिग्रस्त भएपछि राजमार्ग एकतर्फीजस्तो भएको छ ।

सडक अप्ठ्यारो भएकाले मर्मत गर्न स्थानीय तथा व्यवसायीले पटक-पटक माग गरे पनि सुनुवाइ हुन सकेको छैन । माइखोलादेखि गोलाखर्क भञ्ज्याङ खण्डको करिब आधा दर्जन स्थानमा वर्षौंदेखि राजमार्ग भत्किएको छ ।

यो स्थानमा मर्मतका लागि मात्रै करोडौं रुपैयाँ खर्च भइसकेको छ । ५ करोड हाराहारी रकम खर्चेर गरिएको ‘रक’ एङ्करिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ । जिल्लाका जनप्रतिनिधिको नेतृत्व उच्च स्थानमा रहे पनि यो राजमार्गको हालत वर्षौँदेखि उस्तै छ ।

सडक जीर्ण हुँदा सवारीका साधन दुर्घटनाको जोखिम भएको पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बा बताउनुहुन्छ । सडक क्षतिग्रस्त भएसँगै सवारीसाधन वारपार गर्न समस्या हुने चालकहरुको गुनासो छ ।

ट्राफिक प्रहरीले पनि मेची राजमार्गको धेरै खण्ड बिग्रिएकाले सवारी साधन दुर्घटनाको खतरा बढेको जनाएको छ । सडक कार्यालय इलामका सूचना अधिकारी विरेन्द्रकुमार यादवले भने बिग्रिएको राजदुवाली-भन्ज्याङ सडक खण्डको मर्मतमा लागेको ठेक्काअनुसार काम भइरहेको दावी गर्नुहुन्छ ।

सडक भासिन क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भएपछि सडकको रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छ । २०५३ सालदेखि भासिन सुरु गरेको सडकको माइखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको छ । सडक क्षतिग्रस्त हुने गरेकाले यातायात व्यवसायीले राम्रो अध्ययन गरि मर्मत गर्न आग्रह गर्दै आएका छन् । इमेज खबरबाट