आगलागी भइरहेको स्थानमा पार्किङ गरिएको एउटा अटो ।

बिर्तामोड । बिर्तामोडको भद्रपुररोडमा रहेको अटो ग्यारेजमा हिजो बेलुका साँझ आगलागीमा डेढ करोडको धनमाल जलेर क्षति भएको छ ।

बिर्तामोड-४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी अटो ग्यारेजमा हिजो साँझ आगलागी भएको थियो । आगलागीबाट नयाँ अटो, मर्मतका लागि ल्याइएका पुराना अटो, अटो पार्टसलगायतका सामान जलेर नष्ट भएको छ ।

२० वटाभन्दा बढी अटो जलेको विवरण आफूहरुलाई दिइएको बिर्तामोड नगरपालिकाका बारुण यन्त्रका इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए । आगो निभाउन बिर्तामोड, भद्रपुर र मेचीनगरको दमकल बोलाइएको थियो । त्यस्तै स्थानीय र प्रहरी पनि खटिएका थिए ।

बेलुका ७ः३० बजेतिर शुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको थियो । उमेश शाहले सञ्चालन गर्दै आएको सो ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।