मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल-नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका छन् । प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।

पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनै पनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ । साथै संसदीय दलको सदस्यता निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

दलको विधान विपरित दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण नदिएका दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरु भीम आचार्य, इन्द्रबहादुर आङबो, जीवन घिमिरे, विजयकुमार विश्वास, टंकबहादुर आङबुहाङ, राजेन्द्रकुमार राई, मोहनकुमार खडका, लिलाबल्लभ अधिकारी, लछुमन तिबारी, कुलप्रसाद साम्बा, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, कुशुम श्रेष्ठ, सरिता थापा र सावित्राकुमारी रेग्मीलाई निलम्बन गरिएको राजभण्डारीले बताए । प्रदेशसभा सदस्यहरु तीन महिनाभित्रमा पनि नसुध्रिएको अवस्थामा प्रदेशसभा सदस्य पदबाट हटाउन पार्टीमा सिफारिस गरेर पठाइने प्रमुख सचेतक राजभण्डारीको भनाइ थियो ।

उनले तत्काल मौखिक रुपमा स्पष्टिकरण दिएका र लिखित रुपमा पछि बुझाउने जानकारी गराएकाले स्पष्टिकरण सोधिएकामध्ये ४ जनालाई निलम्बन नगरिएको सुनाए । मौखिम स्पष्टिकरण दिने प्रदेशसभा सदस्यमा तुलसीप्रसाद न्यौपाने, रामकुमार राई, झलकबहादुर मगर र उषाकला राई रहेको राजभण्डारीले बताए । केही प्रदेशसभा सदस्यले करकाप गरेर, केहीले जबरजस्ती, केहीले झुक्याएर अविश्वास प्रस्तावमा हस्ताक्षर गराएको जानकारी प्राप्त भएकाले १९ जनालाई मात्रै स्पष्टिकरण सोधिएको उनको भनाइ थियो ।

प्रदेशसभामा नेकपाको ६७ प्रदेशसभा सदस्य रहेकामध्ये ३७ जनाले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसमध्ये उदयपुरका प्रदेशसभा सदस्य कला घलेले अविश्वास फिर्ता लिइसकेकी छन् । अहिले मुख्यमन्त्री राईसँग २४, दाहाल-नेपाल समूहमा ३९ र पर्ख र हेरमा दुई जना प्रदेशसभा सदस्य छन् । कान्तिपुरबाट