बिर्तामोड । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटल दोस्रो वर्षमा प्रवेश गरेको छ । मुस्कुराउँछ नयाँ जीवन… भन्ने उद्घोषसहित सन् २०२० जनवरी १ तारिकबाट सेवा सुरु गरेको हस्पिटलले पहिलो वर्षमा ५ सयभन्दा बढी सर्जरी गरेको छ ।

हस्पिटलको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले पहिलो एक वर्षमा छातीका १०५, कोलोरेक्टल ५०, न्यूरो २५, गाइनो ५०, टाउको र घाटी १००, सार्कोमास १० लगायतगरी ५ सयभन्दा बढी सर्जरी गरिएको बताए । उनले रेडिएसन ४१३ वटा गरिएको बताउँदै क्यान्सर हस्पिटलको ओपिडीमा जम्मा २६ हजार, नयाँ क्यान्सरको विरामी २६००, जम्मा रेडियो सर्जरी ४०, जम्मा मामोग्राफी ४००, जम्मा बायोप्सी ३३५६, जम्मा एमआरआई ३१९, जम्मा सिटी ५२६, जम्मा युएसजी ८८०, जम्मा इन्प्यासेन्ट ८४२ र जम्मा डेकेयर २५९० जना विरामीको गरिएको जानकारी दिए ।

गत वर्षको जनवरी १ मा शुरु गरिएको पूर्वाञ्चल क्यान्सर हस्पिटल अहिले ८ तले भवनमा ३ सय शैय्याको रहेको छ । ओपिडीबाट शुरु गरिएको हस्पिटलमा हाल सय जना स्टाफ रहेको मेडिकल डाइरेक्टर यादवले बताए । सरकारले अघिल्लो वर्ष सन् २०२० लाई पर्यटन वर्ष मनाइरहेकै दिन २९ वर्षिय पदम मिश्रलाई रेडिएसन दिएर सो हस्पिटलको उद्घाटन गरिएको थियो ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको चार वर्षअघिको परिकल्पना उनको मुखमा क्यान्सर हुँदा उपचारका क्रममा सल्लाह भएर मूर्तरुप लिएको डा यादवले बताए । उनले अबको केही दिनमै एशियामै पहिलो पटक साइबर नाइफको रोवर्टिक सर्जरी मेशिन ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले आफूले शुरुमा क्यान्सर हस्पिटल खोल्दा कसैले नपत्याएको स्मरण गर्दै आफ्नो आत्मविश्वास र अठोटले त्यसलाई पूरा गर्न सकिएको बताए । उनले एकैदिन शुरु गरिएको पर्यटन वर्ष असफल बन्दा क्यान्सर हस्पिटलले सबैको सहयोगले इतिहास बनाउन सकेकोमा खुशी ब्यक्त गरे । प्रसाईले आफूलाई पत्रकारहरुले निकै खेद्ने काम गरेकोमा गुनासो गर्दै खराब काम नगरेकै कारण भेट्न नसकेको बताए ।

कार्यक्रममा बिएण्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा निराजन पराजुली, डा उमेश शर्मा, पत्रकार मोहनकाजी न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सिओ निराजन प्रसाई, प्रदीप बस्नेतलगायतकाचिकित्सक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा हस्पिटल परिवारका सदस्यहरुले केक काटेर खुशियाली मनाएका थिए । कार्यक्रमको संचालन जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।