मिर्गौला पीडित राजेश सुन्दासलाई रकम हस्तान्तरण गर्दै समितिका संयोजक पोख्रेलसहित सदस्यहरु ।

अर्जुनधारा । दुवै मिर्गौला पीडित राजेश सुन्दासलाई स्वास्थ्य उपचारका लागि देशविदेशबाट सहयोग रकम उपलब्ध हुने क्रम जारी छ । आर्थिक अवस्था कमजोर भएका राजेशको उपचारका लागि आर्थिक संकलन समिति गठन गरिएको थियो ।

अर्जुनधारा ७ निवासी सुन्दासको उपचारमा समस्या आएपछि राजेश सुन्दास बचाउ अभियानअन्तर्गतको आर्थिक संकलन समितिले संकलन गरेको रकम आवश्यकताअनुसार हस्तान्तरण गरिँदै आएको छ । गएको पुस ६ गते ४७ वर्षीय सुन्दासले आफ्नो जीवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेपछि सामाजिक अभियन्ता कमल पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको थियो ।

समितिका संयोजक पोख्रेलका अनुसार अहिलेसम्म ९० हजारभन्दा बढी रकम संकलन भएको छ । संकलित रकममध्ये यसअघि २५ हजार उपचार खर्चका लागि प्रदान गरिएको थियो । यसैगरी आज थप १५ हजार उपचारमा सहज होस् भनेर प्रदान गरिएको पोख्रेलले बताए ।

अहिलेसम्म गाउँघरका स्थानीय, विदेशमा भएका यहाँका स्थानीय र शनिश्चरे बहुमुखी क्याम्पसबाट रकम संकलन भएको छ । आवश्यकताअनुसार उनको उपचार गर्न समितिले रकम प्रदान गर्दै जाने संयोजक पोख्रेलले जानकारी दिए । सहयोग जुट्दै गएपछि राजेशको उपचारमा सहजता आउनुका साथै उनका परिवारमा खुसी छाएको छ । समितिका संयोजक पोख्रेलले दाताप्रति धन्यवाद प्रकट गरेका छन् ।

डेढ वर्षअघि कलेजोमा समस्या देखा परेपछि उपचार गर्ने क्रममा एक वर्षदेखि मिर्गौलामा समस्या देखा परेको उनका भाइ विकास सुन्दासले बताएका छन् । सामान्य आर्थिक अवस्था भएका दाजुको उपचार गर्ने क्रममा अहिलेसम्म १२ लाखभन्दा बढी खर्च भएको भाइ विकासले बताए । ‘अहिलेचाहिँ डायलासिस गर्नेसम्म पैसा नभएपछि सबैसँग आर्थिक सहयोगका लागि हारगुहार गर्नु परेको हो’, विकासले भने ।

उनका अनुसार सातामा दुई पटक डायलासिस गर्नुपर्ने र एक पटकमा कम्तिमा ५ हजार खर्च हुने गरेको छ । अर्जुनधारा मन्दिर नजिकै टेलरिङ पेसा गर्दै आएका दुवै मिर्गौला पीडित राजेश थला परेपछि बाँकी परिवारका चार सदस्यको पनि हातमुख जोड्न समस्या रहेको छ ।

संयोजक पोख्रेलले सबैसँग सहयोगको अपिल गर्दै राजेश सुन्दासलाई सहयोग गर्नका लागि एनआईसी एसिया शनिश्चरे शाखाको खाता नम्बर २११५७५१०३३८४९००१ मा रकम पठाउन सकिने जानकारी दिए ।