फाइल तस्वीर ।

ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ । आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।​

डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगो सल्किरहेको प्रजिअ चापागाईँको भनाइ छ । अहिले पनि ती मुडामा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेका छन् ।

भौगोलिक विकटताका कारण पूर्णरुपमा डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको उहाँको भनाइ छ । डढेलोले झण्डै पाँच सय रोपनी क्षेत्रफलमा क्षति पुर्याएको प्रजिअ चापागाईँले बताउनुभयो ।

उहाँकाअनुसार जंगलमा बढीजसो सल्ला, साल र गुराँसका बोटमा क्षति पुगेको छ । डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत नष्ट भएको छ ।

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप बनाएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । पाथिभरा मन्दिर क्षेत्रनजिकै पुगेको आगो भने हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको थियो ।