झापा । झापामा निजी क्षेत्रबाटै ‘किसान परिचयपत्र’ वितरण सुरु गरिएको छ । झापा गाउँपालिका-३ स्थित एग्री सेन्टर प्रालिले जिल्लाकै नमुनाका रुपमा ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरेको हो ।

किसानहरूको पहिचान गरी कृषि पेसालाई गर्व गर्न लायक र कृषिबाट सामाजिक, पारिवारिक समृद्धि ल्याउनका लागि किसान परिचित हुनु नै पहिलो आधार हो भन्ने मान्यताका साथ परिचयपत्र वितरण गरिएको सेन्टरका सञ्चालक चन्द्रप्रसाद बस्नेतले बताउनुभयो ।

परिचयपत्र पाएका किसानलाई कम्पनीबाट मल, बीउ बिजन, विषादी तथा कृषि औजार खरिदमा समेत छुट दिने व्यवस्था गरेको बस्नेतको भनाइ छ । त्यस्तै कार्ड पाएका किसानले उत्पादन गरेका कृषि वस्तुको बजारीकरणमा पनि कम्पनीले सहजीकरण गर्ने उहाँको भनाइ छ ।

नेपालमा जग्गा धनीपूर्जाको प्रमाणपत्र भएका, नेपाली नागरिक, कृषिमा आत्मनिर्भर, फौजदारी अभियोग नलागेका, कृषिमा आधुनिकीकरण भएका र मेहनती, परिश्रमी इमानदार किसानलाई परिचयपत्र वितरण गरिएको बस्नेतको भनाइ छ ।