इलाम । इलाम नगरपालिकाले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई निःशूल्करुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाले इलाम अस्पताल वा वर्थिङ्ग सेन्टर साँखेजुङ्ग ल्याउन र लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।

सुत्केरी महिलाबाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा रकममा इलाम नगरवासीहरुको लागि २० प्रतिशत रकम छुट सुविधा दिने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाको आकस्मिक कोषबाट १० लाख ४० हजार ३ सय १७ रुपैयाँमा नेपाल सरकारको राजश्व छुट सुविधामा एम्बुलेन्स खरिद गरिएको हो । यस एम्बुलेन्सले इलाम नगरक्षेत्रका सुत्केरी महिलाहरुलाई प्राथमिकताका साथ सेवा दिने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताएका छन् ।