फाइल तस्वीर ।

इलाम । कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ छ महिनापछि धकेलिएको छ । इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो ।

यही चैतभित्र खानेपानी झार्ने योजना बनाएपछि सम्भव नहुने देखिएको छ । हालसम्म खानेपानीको ७० प्रतिशत काम मात्र भएको छ । पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ तर निर्धारित मितिमा सक्न योजनाबद्धरूपमा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

आयोजनामा कार्यरत अधिकांश श्रमिक तराई मूलका छन् । कोरोनाले बन्दाबन्दीका समयमा घर फर्काएको तर समयमा आउन नसक्दा निर्धारित समयमा काम नसकिने भएको हो । दुई वर्षभित्र काम सकिने गरी सम्झौता गरिएको थियो । बयालिस किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप बिछ्याउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्स्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट रु १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ ।

बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी पाँच प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिइएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको पाँच प्रतिशत रु दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक (एडिबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो ।

गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसम्भार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउने छ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो ।

साना शहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०-१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ । रासस