झापा (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । बोरिस जोनसनले यो घोषणासँगै सबैलाई घरमा नै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज र युनिभर्सिटी अब रिमोट स्टडी माध्यमबाट चल्नेछन् ।

बीबीसी संवाददाता गगन सभरवालले लकडाउनको घोषणा सँगै अब मानिसहरु घरबाट बाहिर निस्कन लगभग बन्द हुने र अत्वाश्वयक कामका लागि मात्रै मानिसहरु बाहिर निस्कन सक्ने बताएका छन् । यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘जसरी संक्रमितको संख्या बढिरहेको छ, यसले यो स्पष्ट पारेको छ कि हामीले थप मिहिनेत गर्न आवश्यक छ । त्यसैले हामीले देशव्यापी लकडाउन लागू गर्नुपर्छ । ’

यद्यपि, उनले मानिसहरु अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन सक्ने बताएका छन् । यसमा आवश्यक सामान खरिद गर्न, अफिस जानका लागि (यदि घरबाट काम हुन सकिरहेको छैन भने), व्यायाम, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्नका लागि बाहिर निस्कन सक्छन् ।

प्रधानमन्त्री बोरिसले बेलायतका मुख्य स्वास्थ्य अधिकारीहरुलाई देशमा कोभिड अलर्ट लेभल–पाँच गरिदिन सुझाव दिएका छन् । यसको अर्थ यो हो कि यदि तुरुन्त एक्सन नलिए नेशनल हेल्थ सर्भिसको क्षमताभन्दा पनि बढी मामिला आउन सक्छन् ।

उनले बेलायतमा व्यापक खोप अभियान सुरु भइसकेको छ र अन्य युरापको तुलनामा बढी मानिसहरुलाई भ्याक्सिन दिइसकेको जानकारी दिएका छन् । उनले खोप अभियानमा तीब्रता आएको बताए । यसको कारण अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिन हो जसको खोप सोमबारदेखि लगाउत सुरु गरिएको हो ।

‘यदि सबैकुरा ठिक रहे, फेब्रुअरीको मध्यसम्म सरकारलाई आशा छ कि चार प्राथमिकता समूहमध्ये सबैले भ्याक्सिन पाउनेछन्’, प्रधानमन्त्रीले भने, ‘यदि यी समूहमध्ये हामी सबैलाई भ्याक्सिन दिन सफल भयौं भने एउटा ठूलो जनसंख्या भाइरसको बाटोबाट हट्न सक्नेछन् ।’