अर्जुनधाराका मेयर हरिकुमार रानाबाट रंगीन भिडियाे एक्सरे मेसिन हस्तान्तरण गरिँदै ।

अर्जुनधारा । पन्ध्र शैय्याको अस्पताल सञ्चालन भइरहेको अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पताललाई करिब १३ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट प्राप्त विभिन्न स्वास्थ्य सामग्री आज अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका हुन् । मेयर राना अस्पतालका संरक्षक हुन् ।

स्वास्थ्य सेवा विभागबाट विरामीको उपचारमा प्रयोग हुने मनिटर, सक्सन मेसिन, रंगीन भिडियो एक्सरे मेसिन, भेन्टिलेटर, अक्सिजन सेट, अक्सिजन मात्रा जाँच्ने मेसिन र फ्रिज एक-एक थान तथा जेनरल बेड पाँच थान प्राप्त भएको थियो ।

काठमाडौँबाट हिजोमात्र आइपुगेको उक्त स्वास्थ्य सामग्री आज एक अनौपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य सामग्रीको मूल्य १२ लाख ८१ हजार १८७ रुपैयाँ रहेको अस्पतालका सिनियर अहेव डम्बरवल्लभ मिश्रले जानकारी दिए ।