शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रबाट प्रकाशित हुँदै आएको यलम्बर टाइम्स साप्ताहिक समाचारपत्रको आफ्नै भवन बन्ने भएको छ । यलम्बर टाइम्स १३ वर्ष अघिबाट प्रकाशित हुँदै आएको छ ।

समावेशी सूचना केन्द्र मातहतबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिक र यलम्बर टाइम्स डटकम अनलाइन पोर्टलको कार्यालय भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । अर्जुनधारा ७ स्थित अर्जुनधारा रंगशाला नजिक कार्यालय भवनको शिलान्यास गरिएको हो ।

एक कार्यक्रमका बीच पूवमन्त्री केशवकुमार बुढाथोकी, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना र नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले संयुक्तरुपमा भवन निर्माणका लागि शिलान्यास गरे । उनीहरुले अर्जुनधारा नगरमै पहिलो सञ्चार गृहको रुपमा स्थापित यलम्बर टाइम्सको भवन निर्माणका लागि सक्दो सहयोग गर्ने आश्वासन व्यक्त गरे ।

केन्द्रका सञ्चालक तथा पत्रिकाका सम्पादक दिपीन राईको सञ्चालनमा भएको कार्यक्रममा कार्यकारी सम्पादक राजन साम्पाले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, मेयर राना, नेका सभापति थापा, पत्रकार मोहन काजीलगायतले पत्रिकाबारे आफ्ना धारणा राख्दै भवन निर्माण चाँडै सम्पन्न गर्न शुभकामना दिएका थिए ।

सम्पादक राईका अनुसार कार्यालय भवनमा एउटा हलसहित ३ वटा कोठा निर्माण हुनेछ । कार्यक्रमको अध्यक्षता केन्द्रकी संरक्षक माइली राईनीले गरेकी थिइन् । हाल यलम्बर टाइम्सको कार्यालय अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा रहँदै आएको छ ।