अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई रेविज रोगबाट निर्मूल पार्ने उद्देश्यले आज (बिहीबार)देखि रेविज रोग नियन्त्रण कार्यक्रम सुरु भएको छ । नगरपालिकाले घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क रेविज रोगविरुद्धको खोप लगाउने कार्य सुरु गरेको हो ।

चालु आर्थिक वर्षको लागि स्वीकृत बजेटबाट सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्देश्य नगरमा रेविज रोगलाई निर्मूल पार्ने रहेको नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले बताए ।

अर्जुनधारा-१ स्थित सातकटेरी मदन चोक, हलुवागढ सामुदायिक वन उपभोक्ता समूह, मंगलबारे बजार, विरान चोक, खगेन्द्र चोक र कञ्चनजंगा बोर्डिङ स्कूलबाट सुरु भएको उक्त कार्यक्रम आगामी माघ ७ गते सम्पन्न हुने शाखाद्धारा जारी रेविज खोप सञ्चालन तालिकामा उल्लेख गरिएको छ ।

शाखाले निःशुल्क रेविजविरुद्धको खोपसँगै कुकुर बन्ध्याकरण शिविर पनि सञ्चालन गर्ने शाखा प्रमुख राईले जानकारी दिए । शाखाले पहिलो दिन ११५ वटा कुकुर र १० वटा बिरालोसहित १२५ वटालाई खोप लगाइएको छ ।

रेविजविरुद्धको खोपका लागि १४ जना प्राविधिक नगरभरि परिचालन गरिएको छ । ०७५ सालबाट सुरु गरिएको यस अभियानपछि रेविज लागेर किसानको पशुचौपाय नमरेको कार्यालयको भनाइ छ । यसवर्ष एक हजार ५ सय वटा कुकुर तथा बिरालोलाई खोप दिइने भएको छ । नगरको १, २, ३ र ४ नम्बर वडा रेविजबाट प्रभावित भएको बताइएको छ ।