धरान । पार्क भन्नु बित्तिकै सुन्दर ठाउँको परिकल्पना हुन्छ । जहाँ घुम्ने, रमाउने फूलबारी, बस्ने ठाउँहरु हुन्छन् । फोटो खिच्न पर्यटकहरुको भिडभाड हुन्छ । तर, धरान १७ स्थित सप्तरंगी पार्क पुग्दा भने जो कोही निराश हुन्छन् ।

धरानको पर्यटनको चर्चा हुँदा नछुट्ने ठाउँ हो, सप्तरंगी पार्क । यो पार्क निर्माण शुरु भएको करिब २२ बर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । धरानको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेर निर्माण शुरु भएको यो पार्क अहिले झाँडीमा परिणत भएको छ । करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा खर्च भने ३ करोड बढी भइसकेको छ । यो खर्चले केही संरचनाहरु बनाइएको छ, तर उचित स्याहार सम्भारको अभावले ती संरचनाहरु जीर्ण बन्दै गएको छ ।

उपमहानगरपालिकाका अनुसार सन् १९९८ (२०५५ साल) मा बिडिए कन्सल्टेन्टले पार्कको डिजाइन नक्सा बनाएको थियो । डिजाइन अनुसार त्यसबेला ५ करोड लागत अनुमान गरिएको थियो । तत्कालिन नगरपालिकाले विभिन्न स्रोत खोजेर पहिलो चरणमा क्रमशः कम्पाउण्ड वाल, ड्रेन एज निर्माण, टिकट घर बनाउने, मूर्ति बनाउने कामहरु गरेको थियो । पछि, शहरी विकास तथा भवन निर्माण विभागले पनि केही पिकनिक सेडहरु बनाइदिएको योजना महाशाखाले जनाएको छ ।

करोडौं लगानी भइसके पनि पार्कले पूर्णता भने पाउन सकेन । निर्माण शुरु भएको करिब २२ बर्षसम्म लथालिङ अवस्थामा पुगेको सप्तरंगी पार्कको डिपिआर भने अब बन्न लागेको उपमहानगरले जनाएको छ । ‘२२ वर्ष अगाडि काठमाडौंको कन्सल्टेन्ट बिडिए नेपालले गरेको डिजाइनमा ५ करोडको लागत स्टिमेट तयार गरेको थियो । पार्कमा ३ करोड खर्च भइसकेको छ’, बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने ।

धरान–१७ रेल्वे चोकदेखि करिब एक किलोमिटर दूरीमा सप्तरंगी पार्क रहेको छ । पूर्वमेयर स्वर्गीय ध्यानबहादुर राईको पालामा खोलाको बगर रहेको जग्गालाई संरक्षण गरेर पार्कको रुपमा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको थियो ।

‘पर्यटनका हिसावले के-के बनाउने ? भनेर डिपिआर नै नबनाई काम थालियो, त्यसले गर्दा के बनाउँने, के नबनाउँने भन्ने बिचमा अन्योल सिर्जना भयो’, वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले भने, ‘अब डिपिआर तयार हुँदैछ । विगतमा जस्तो अन्योलता हुँदैन ।’