झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरणका लागि फोटा खिचाएका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्रका लागि फाेटाे खिचाएका हुन् ।

छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिनका लागि आवश्यक प्रक्रिया पूरा गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोभिड १९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरणका लागि फोटा खिचाउने काम शुरु गरेको बताउनुभयो ।

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले फोटो खिचाइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् ।

‘कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरणको प्रक्रिया पूरा भइसक्थ्यो’, सहायक प्रजिअ पाण्डेले भन्नुभयो, ‘पालिकाका वडामा दैनिक छदेखि आठ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।’ छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट प्रक्रिया अघि बढाउन सकिने उहाँले जानकारी दिनुभयो । झापापछि टोली मोरङ जाने उहाँको भनाइ छ ।