फाइल तस्वीर ।

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी, पाथीभरा कर्मचारी र स्थानीयलाई १५ दिन लाग्यो ।

आगो निभाउन नेपालमै पहिलो पटक हेलिकोप्टर समेत प्रयोग गरियो । सिम्रिक एयरको हेलिकोप्टरले मन्दिर परिसरमा पुगेको आगो निभाउन दुई दिनसम्म पानी खन्याएको थियो । झापा, इलाम र पाँचथरका गुल्मबाट नेपाल आर्मी र ताप्लेजुङबाट प्रहरीले आगो निभाउन फेदीबाट जर्किनमा पानी बोकेर लगेका थिए ।

३ हजार ५ सयभन्दा माथि उचाईको क्षेत्र भएकाले यहाँ आगो निभाउन पानीको अभाव भएको थियो । दुई घण्टा पैदलमा रहेको फेदीबाट पानी ओसार्दा समय लागेको स्थानीयको भनाई छ ।

आगो निभाउन खटिएको तीन वटै सुरक्षा निकायको टोली बिहीबार सदरमुकाम फुङलिङ फर्किएको थियो । ‘सबैको प्रयासले डढेलो नियन्त्रणमा आएको छ’, डिभिजन वन कार्यालय ताप्लेजुङका फरेष्टर फुपुग्याबु शेर्पाले भने । डढेलो लागेको वन फुङलिङ नगरपालिका, सिरिजंघा र फक्ताङलुङ गाउँपालिकामा पर्छ ।

सो क्षेत्रको सिम्बु र सुनपाती सामुदायिक वनमा पुस ९ गतेदेखि डढेलो लागेको थियो । दुवै वनको आगो पाथीभरा मन्दिरसम्म नै पुगेको थियो । डढेलोले १ सय ४० हेक्टर भन्दा धेरै वन क्षेत्र खरानी भएको शेर्पाको भनाई छ ।

तत्कालका लागि डढेलो नियन्त्रण भए पनि जोखिम भने कायमै रहेको फरेष्टर शेर्पा बताउँछन् । ‘ठूलो आगोमात्रै निभेको हो, घना जंगलभित्र रुखमा अझै पनि आगो रहेको हुनसक्छ’, उनले भने, सुख्खा खडेरी लागीरहेकाले आगो जुनसुकै बेला फैलनसक्ने हुँदा सतर्क चाहिँ हुनैपर्छ ।’ पानी नपर्दासम्म ढुक्क हुने अवस्था भने नरहेको उनको भनाई छ ।