पार्थ मण्डल,
झापा । सामाजिक सञ्जाल टिकटकमा जुम्ल्याहा (टुइन्स)ले अपलोड गरेको भिडियो प्रयोगकर्ताले बढी रुचाउन थालेपछि उनीहरूको क्रेज ह्वातै बढेको छ ।

टुइन्सको क्रेज यस्तो बढिरहेको बेला झापामा एकै पटक ३७ टुइन्सको संयुक्त भेला सम्पन्न भएको छ । कमल गाउँपालिका-६ झारवारिस्थित स्माईल फन पार्कमा उनीहरूको भेला सम्पन्न भएको हो ।

सन् २०१६ मा स्थापना भएको टुइन्स क्लब नेपालले पाँचौँ वर्षको अवसरमा झापाका विभिन्न स्थानमा रहेका टुइन्सहरुलाई एकै ठाउँ भेला गरी एक आपसमा परिचय गराएका थिए । देशभर जुम्ल्याहा र तिम्ल्याहाहरुको भेटघाट गरी सङ्ख्या सङ्कलन गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्दै आइरहेको क्लबका संस्थापक सदस्य कमल श्रेष्ठले जानकारी दिए ।

सङ्गठनलाई विस्तार गर्दै लैजाने बताउँदै श्रेष्ठले भने, ‘सबै टुइन्सको क्षमता वृद्धि गर्नुका साथै आफ्नो आफ्नो ठाउँबाट सहयोग गरी हरेक सामाजिक कार्यमा मन र विचार मिलाएर देशव्यापी टुइन्स क्लब नेपाललाई चिनाउने उद्देश्य हो ।’

टुइन्सहरुको अनुहार मात्र होइन भावना र विचार समेत मिल्ने हुँदा हामी सबै एक ढिक्का भएर उभिनु पर्ने बताउँदै शङ्करप्रसाद सापकोटाले भने, ‘टुइन्सहरु गायन र चलचित्र लगायतका क्षेत्रमा नाम कमाइरहेको हुँदा अब सामाजिक र राजनीतिक क्षेत्रमा पनि अग्रसर भई राष्ट्र उन्नतिमा जुट्नु पर्छ ।’

कार्यक्रममा टुइन्सहरु दमकका शङ्कर र भिमप्रसाद सापकोटा, दमकबाटै भावना र भगिरथा भट्टराई, विशाल र विजय श्रेष्ठ, जमुना र गङ्गा राई, समीक्षा र सुरक्षा चम्लागाई, जिना र जुनी श्रेष्ठ, आकृति र अंशु बजगाईँ, अञ्जना र रञ्जना भट्टराई, दृष्टि र सृष्टि अधिकारी, गौरादहबाट कमल श्रेष्ठ, चुलाचुलीबाट सोनी र सोना राई, बाह्रदशीबाट गङ्गा र जमुना बस्नेत, पथरीबाट दिक्ष र रक्षा बस्नेत, मेचीनगरबाट प्रिया र सुप्रिया रोक्का, अनुसार र अञ्जलि बाँस्कोटा, एलिसा र एलिजा यादव, अपेक्षा र असीका दाहाल र शरणामतीबाट सचिन चिमरियाको उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा सहभागी टुइन्सहरुले जोडी जोडी ग्रुपमा फोटो खिचाएका पनि थिए । पार्कमा पिकनिक खान र घुम्न आएका अधिकांश आन्तरिक पर्यटनका लागि टुइन्सहरु रमिते बनेको दृश्य हेर्न लायकको थियो । टुइन्सहरुको भेलाबाट जिल्लामा थप सङ्गठित हुन संस्थापक सदस्य कमल श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिको सदस्यहरूमा दमकबाट सृष्टि अधिकारी, बिर्तामोडबाट शिला बस्नेत, झापा गाउँपालिकाबाट सचिन चिमरिया, मेचीनगरबाट अपेक्षा दाहाल, पथरीबाट रक्षा बस्नेत, बाह्रदशीबाट गङ्गा बस्नेत र चुलाचुलीबाट सोना राई चयन भएका छन् ।

अघिल्लो वर्ष धरानमा झापा, मोरङ, सुनसरी जिल्लाका टुइन्सहरुको संयुक्त भेला सम्पन्न गरिएको थियो । त्यसैगरी टुइन्स क्लब नेपालले सोही दिन सुनसरी, इलाम, बुटवल र चितवनमा पनि टुइन्सहरुको छुट्टाछुट्टै भेला सम्पन्न गरेको जनाइएको छ ।