दमक । झापाको दमक ३ स्थित बेलडाँगी भूटानी शरणार्थी शिविरमा सोमबार साँझ भएको आगलागीमा परी एक बृद्धको मृत्यु भएको छ ।

साँझ ५ः३० बजे शिविरको सेक्टर डि ४, छाप्रा नम्बर ३२५ बस्ने देशमान राईको टाटीले बारेको टिनको छाना भएको घरमा आगो लागेको थियो । झापा जिल्ला प्रहरी कार्यायलका अनुसार आगलागीमा परी घरधनी ६० वर्षीय देशमान राईको मृत्यु भएको छ । उनी घरमा सुतिरहेकाे अवस्थामा घटना भएकाे बताइएकाे छ ।

प्यारालाइसिस रोगबाट ग्रसित राईको घरमा भएको आगलागीको कारण खुल्न नसकेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । स्थानीय, प्रहरी, दमकलको मद्दतमा आगो ८ः१५ बजे नियन्त्रणमा लिइएको थियो ।

उनका अनुसार आगलागीबाट करिब ८ लाख मूल्यबराबरको क्षति भएको छ । आगलागीबाट एक तोला सुन, दस तोला चाँदी र नगद ३ लाख तथा लत्ताकपडा, खाद्यान्न गरी आठ लाखबराबर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।