झापा । जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष माई मेला संचालन नगर्न र नगराउन निर्देशन दिएको छ । माघ १ गते माघे संक्रान्तिका दिन लाग्दै आएको सो मेला यस वर्ष नलगाउन प्रशासनले निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सूचना जारी गरी कोरोना संक्रमणको जोखिम विद्यमान रहेको भन्दै मेलामा अत्यधिक भीडभाड हुने र त्यसबाट संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सो निर्णय गरिएको जनाएका छन् । मेलामा रोटे पिङ, सर्कसजस्ता मनोरंजनलगायतका कार्यहरु र हाटबजार टेन्ट टाँगेर गरिने व्यापार व्यवसायजस्ता क्रियाकलाप नगर्न रोक लगाइएको छ ।

कनकाई नदी पूर्व कनकाई नगरपालिका र पश्चिम शिवसताक्षी नगरपालिकामा माई मेला लाग्ने गरेको छ । ती दुवै नगरपालिकाले आआफ्ना निर्णय जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । कनकाई नगरपालिकाले पुष २४ र शिवसताक्षी नगरपालिकाले पुष २६ गते आफ्नो निर्णय पाएको थियो । त्यही निर्णयलाई आधार मानेर मेला नलगाउने निर्णय गरिएको सहायक प्रजिअ पाण्डेले बताए ।

हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिनसम्म कनकाई नदीको किनारमा माई मेला लाग्ने गरेको थियो । प्रदेशकै ठूलो मेलाको रुपमा चिनिएको माई मेला कोरोना संक्रमणको जोखिमले यस वर्ष नलगाउने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन् ।

उनले स्वस्फुर्त रुपमा मकर नुहाउन आउने मानिसहरुलाई खुल्ला गरिएको जानकारी दिइन् । धार्मिक क्षेत्रमा दैनिक रुपमा बस्ने पूजा सामग्रीको पसलबाहेक पिङ, होटल अन्य सामग्रीका पसल सञ्चालन गरी भीडभाड गर्न नदिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डुु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यहाँ स्नान गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशबाट समेत हजारौँको सँख्यामा भक्तजन आउने गर्दछन्।