झापा । केही वर्ष अघिसम्म कोच राजवंशी समुदायले बनाउने र रुचाउने भक्का पछिल्लो समय धेरैको रोजाइमा पर्दै गएको छ।

विगतमा राजवंशी समुदायमा सीमित भक्काको चर्चाको दायरा फराकिलो बन्दै गएको छ। समय क्रमसँगै भक्काले खाजाको ‘राजा’ बन्ने र धेरैको मन जित्ने परिस्थिति बनेको छ। भक्काको उत्पादन र उपभोगमा वृद्धि हुँदै गएपछि झापामा राष्ट्रिय भक्का दिवस नै मनाउन थालिएको छ।

कोचिला गाभुर फ्रन्टले भक्का दिवस मनाउन थालेको चार वर्ष पुगेको छ। हरेक वर्षको पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस घोषणा गरेर फ्रन्टले यो दिवस मनाउन थालेको हो। यसैक्रममा आज झापाको बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइयो। यहाँ कोच लोक सांस्कृतिक कार्यक्रमसहित चौथो भाक्का दिवस मनाइएको हो।

फ्रन्टको केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित मनाउँदै आएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य समुदायमा पनि लोकप्रिय बनेपछि भाक्काको प्रबर्द्धन गर्न फ्रन्ट जुटेको हो।

फ्रन्टलाई दर्जनौं सामाजिक संघसंस्थाले साथ दिन थालेका छन्। उनीहरूले ऎक्यबद्धता सहित भक्काको उत्पादन, उपभोग र बजारीकरण सहयोगी भूमिका निर्बाह गरिरहेको फ्रन्टका अध्यक्ष राजवंशीले बताए।

भक्का दिवसमा आज पनि हजारौंको सहभागितामा रह्यो। चामलको पिठोलाई सानो बटुको वा कचौरामा राखेर माटोको भाँडोमा तताइएको पानीको वाफमा राखेर भक्का पकाइन्छ। विषेश गरेर खाजाका रूपमा प्रयोग गरिने भक्का स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ। यो दिवसमा विभिन्न जातीय भेषभूषा लोक सांस्कृतिक बाजाहरू र पहिरनको प्रर्दशन गरिएको छ।

भाक्का दिवसमा निवर्तमान सांसदहरू, झापाका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी,व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू,जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल जिल्लाका प्रमुख, आदिवासी जनजाति महासंघ लगायत विभिन्न निकाय र स्थानीय संघ संस्थाका प्रमुखको सहभागिता रहेको थियो।