झापा । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पूर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री सडकहरुमा सञ्चालन हुने सवारीसाधनको नियमन गर्र्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतनामुलक कार्यक्रम अघि सारेको छ । केही दिनयता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भइ ज्यानसमेत गएकाले सवारीसाधन चेकिङ्गमा तिव्रता दिइएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिकरुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘यसअघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने वैज्ञानिकरुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो ।’

जिल्लाभित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरुलाई सचेतना, साइकल तथा ट्याक्टरमा परैबाट देखिने किसिमको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कार्वाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।

बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालक बीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अत्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने रात्री बसको लापर्बाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।

झापामा पुस महिनामा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भीर प्रकृतिको अंगभंग भए भने ७८ जना घाइते भए ।

एक महिनाको अवधिमा ट्राफिक प्रहरीले ५ हजार ८५ जना सवारीका चालकलाई कार्वाही गर्यो । यस अवधिमा झापा ट्राफिकले ३६ लाख रुपैयाँ राजश्व संकलन गर्यो ।