झापा । मगर समुदायले आफ्नो प्रमुख पर्व मकर सकराँती आज विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । नेपाल मगर संघ काँकरभिट्टाले पट्टन प्राणी कल्याण बौद्ध बिहार (गुम्बा) मा विविध कार्यक्रमका साथ सो पर्व मनाएको हो ।

‘माघे सकराँती महान् चाड मनाउँदै अघि बढौं, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल उद्घोषसहित उक्त पर्व मनाइएको हो । गुम्बा परिसरमा पर्व विशेष शुभकामना आदानप्रदान तथा मगरात साँस्कृतिक कार्यक्रम गरिएको संघका मेचीनगर सल्लाहकार कृष्ण सिञ्जाली मगरले बताए । संघका जिल्ला सदस्य गम्भीरध्वज थापा मगरको प्रमुख आतिथ्य एवं मेचीनगर अध्यक्ष विकास थापा मगरको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

त्यसक्रममा संघका नगर सल्लाहकार सुन्दरबहादुर राना मगर, गुम्बाका अध्यक्ष धनबहादुर राना मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले आफ्नो संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, रहनसहन, भाषा, भेषभूषालगायतको संरक्षण र सम्वद्र्धनका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।

सो अवसरमा संघका नगर सहसचिव कर्ण थापा मगर, सल्लाहकार दीपक थापा मगर, गुम्बाका उपाध्यक्ष काजी राना मगरलगायतको आतिथ्यता थियो । मेचीनगर–८ स्थित गुम्बा परिसरमा आयोजित कार्यक्रममा मगर समुदायको जातीय पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

त्यस्तै, मगर समुदायका बालबालिकाहरुले मनोरञ्जनात्मक विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए भने प्रतियोगितात्मक विविध खेलमा उत्कृष्ट हुनेहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । आयोजक समितिका अध्यक्ष रुपेश राना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सचिव लक्षु थापा मगर र सञ्चालन सदस्य राकेश थापा मगरले गरेका थिए ।