झापा । २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रियामा परिणत गरिएको थियो ।

जिसस प्रमुख सोमनाथ पोर्तेलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले स्वागत मन्तव्य राख्दै विसं १८९० देखि २०७२ सालसम्ममा भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिबारे जानकारी दिनुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ, सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका प्रमुख राजेन्द्र खतिवडा, आधिकारिक ट्रेड यूनियनका अध्यक्ष लक्ष्मी गुरागाईँलगायतले कमजोर भवन बनाउँदा पुग्ने क्षति, भूकम्पबाट जोगिने आधारभूत जानकारी र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको भवन बनाउन गाउँगाउँमा सचेतना कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रभातफेरीमा ‘सुरक्षित भवन बनाउन राष्ट्रिय भवन संहिताको अनुसरण गरोैं, भूकम्पनीय विपद्बाट सुरक्षित हुने सम्पूर्ण नागरिकको अधिकार, घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर’लगायतका नारा लेखिएको प्लेकार्ड बोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाबीच नेपाल रेडक्रस सोसाइटी झापाले जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि १०० थान कम्बल हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भूकम्प आउँदा सुरक्षित रहने तरिका बारे ‘डेमो’ गरेर देखाएका थिए ।