विराटनगर । फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग एक ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका-६, महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सारांश भट्टराई हुन् । बरामद सामग्रीमा एउटा ड्रोन, तीनवटा क्यामेरा, ५ क्यामेराको ब्याट्री, मेमोरी कार्ड, रिफ्लेक्टर, माइक, पावर बैंक, चार्जर,ल्यापटप लगायतका सामाना रहेको प्रहरीले जनाएको छ ।

विराटनगरमा भव्य फेसन सोको आयोजना गर्ने भन्दै फोटो खिच्नका लागि सामग्रीहरु मगाउन लगाइ उनीहरुले कास्की पोखरा महानगरपालिका-२०, मलामस्थित योर डिजिटल फोटो गुड्स सेन्टरका सञ्चालक २८ वर्षीय विमल कार्कीलाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मोरङका एसपी सन्तोष खड्काका अनुसार नियोजित ढंगले झापाका युवक ढकालले व्यवसायी कार्कीसँग फोनमार्फत सम्पर्क गरेर २४ पुसमा पेस्की स्वरुप ई-सेवाबाट चार हजार रुपैयाँ पठाएका थिए ।

पेस्की पाएपछि विश्वस्त भएर २५ पुसमा अर्डरका सामग्रीसहित आएका कार्कीलाई ढकालले मोरङको बुढिगंगा गाउँपालिका-१, टंकिसिनवारीस्थित एक लजमा राखेका थिए । त्यसपछि खाना खाने बहानामा सुनसरी इटहरीस्थित प्राइम होटेलमा कार्कीलाई पुर्‍याएपछि ढकाल बेपत्ता भएका थिए ।

‘शंका लागेर कार्कीले पनि आफू बसेको होटेलमा फर्केर कोठा चेक गर्दा फोटोग्राफी सामग्रीहरु लिएर ढकाल र उनको पर्दा पछाडिको साथी भट्टराई फरार भइसकेका थिए’, एसपी खड्काले भने । रुँदै आएका ढकालको जाहेरी अनुसार मोरङ प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दै जाँदा माघ १ गते सामानसहित घरबाटै ढकाल र भट्टराईलाई पक्राउ गरिएको उनले बताए ।