प्रकाश नेपाल,
इलाम । इलामामा उपभोक्ताका घरमा उज्यालो पु¥याउन गाडिएका काठका विद्युतीय पोल नै नियमित विद्युत प्रशारणका बाधक बनेका छन् । १५ वर्ष अगाडी गाडिएका काठका पोलहरू अति नै जिर्ण हुँदा सामान्य हावाहुरीले नै विद्युत प्रशारण अवरुद्ध हुने गरेको छ ।

नयाँ विद्युत विस्तारमा काठका पोलहरूको प्रयोगमा रोक लगाए पनि पुराना पोलहरू मक्किएर र भाच्चिएकै अवस्थामा प्रयोग भइरहेका छन् । हजारौंको संख्यामा रहेका काठका पोलहरू फेर्न पर्याप्त बजेट नहुँदा हावाहुरी, बाढी पहिरो र प्राकृतिक प्रकोपबाट विद्युत प्रशारण लाइनमा ठूलो क्षति हुँदै आएको छ ।

धेरै पोलहरू मक्किएकाले एक पटक हावाहुरी चल्दा दर्जनौं पोलहरूमा क्षति पुग्ने गरेको छ । हावाले क्षति पुगेका कतिपय पोलमा टेको लगाएर विद्युत् प्रसारण गरिएको छ । पुरै भाच्चिएको पोललाई भने झिकेर विद्युत प्राधिकरणले स्टिल पोल लगाउँदै आएको छ । बजेट पर्याप्त नभएपछि हजारौंको संख्यामा काठको पोल परिवर्तन गर्न आयोजनाको माग गरिएको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो ।

प्राधिकरणका अनुसार इलाममा काठका विद्युतिय पोल १४ हजारको संख्यामा छन् । जसलाई परिवर्तन गर्न अहिलेको अवस्थामा २८ करोड रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ । मक्किएका पोलहरू प्रसारण लाइनमा राख्दा जोखिम पनि उत्तिकै बढेको छ । मक्किएका सबै काठमा पोल परिवर्तन गर्न सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।