बिर्तामोड । बिर्तामोड-२ का खतिवडा दम्पत्तिले आफ्नो रजत विवाह वर्षगाठ सामाजिक कार्य गरेर मनाएका छन् ।

क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधव कल्पित र समूहकी केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले आफ्नो रजत विवाह वर्षगाठ कलाकारिता पुरस्कार स्थापना, मिर्गौलापीडितलाई सहयोग र कलाकार कल्याणकारी कोषमा रकम सहयोग गरेर मनाएका हुन् ।

बिर्तामोड-१ देवी पञ्चकन्या उत्तरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य खतिवडा दम्पतीले स्व. पिता अविचन्द्र खतिवडा र स्व. माता रत्नकुमारी खतिवडाको स्मृतिमा गठित अवि-रत्न स्मृति प्रतिष्ठानको नाममा स्थापना गरिएको कलाकारिता क्षेत्र पुरस्कारका लागि ५१ हजार राशिको अक्षयकोष स्थापना गरेको घोषणा गरेका थिए ।

समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी र विश्व हिन्दू महासंघका ध्रुवप्रसाद शिवाकोटीलाई खतिवडा दम्पत्तिले अक्षयकोषका लागि ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । त्यस्तै सरगम संगीतालय बिर्तामोडले स्थापना गरेको कलाकार कल्याणकारी कोषका लागि खतिवडा दम्पत्तिले पाँच हजार एक सय रुपैयाँ प्रदान गरे । उक्त रकम संगीतालयका प्रबन्ध निर्देशक दीपक रायमाझीलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै खतिवडा दम्पत्तिले बिर्तामोड-४ का मिर्गौलापीडित वरिष्ठ बाद्यवादक फुर्वा योञ्जनको उपचारका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, सहसचिव देवीचरण भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।