दमक । झापाको दमक नगरपालिका-४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

सोमबार बिहान ९ः४० बजेतिर मे. १ च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १, ००३ ह ६२४ नम्बरको अटोलाई ठक्कर दिएको थियो । दुर्घटनामा अटो चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४० वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अटोमा सवार दमक–४ का २० वर्षीय राजन सिलवाल र सौजन मगर तथा मे. ११ प ९५२५ नम्बरका मोटरसाइकल चालक दमक–६ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । एम्बुलेन्स सुत्केरी बोकेर पूर्वबाट पश्चिमतिर जाँदै थियो ।

मोरङको उर्लाबारीबाट यात्रु बोकेर आएको अटो ताराबारीमा बाटो क्रस गरेर दक्षिणतर्फ जाने क्रममा एम्बुलेन्सले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट सडकमा पल्टिएको अटोमा पश्चिम जाँदै गरेका मे. ११ प ९५२५ नम्बरको मोटरसाइकल र को. २९ प १९३३ नम्बरको स्कुटरसमेत ठोक्किएका थिए ।