इलाम । साहित्यकार पारिजात (विष्णुकुमारी वाइवा) को प्रतिमा अनावरण गरिएको छ । इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा साहित्यकार पारिजातको प्रतिमा स्थापनापछि सोमबार एक कार्यक्रमको आयोजना गरि अनावरण गरिएको हो ।

नेपाली साहित्यमा नारीवादी लेखनमा महत्वपूर्ण भूमिका खेलेका पारिजातका लेखनमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद लगायतका भाव पाइन्छ । विसं २०१३ सालमा ’धरती’ पत्रिकामा कविता प्रकाशन गरेपछि उनले आफ्नो साहित्य यात्रा सुरु गरेकी थिइन् ।

शिरीषको फूल (२०२२) मा मदन पुरस्कार प्राप्त गर्न सफल पारिजात मदन पुरस्कारबाट सम्मानित पहिलो महिला हुन् । उनका २२ वटा प्रकाशित कृति छन् । उनको प्रकाशित पहिलो कृति आकांक्षा (कविता सङ्ग्रह, २०१४) हो ।

साहित्यमा पु¥याएको अतुलनीय योगदानको सम्मान स्वरुप इलामले यिनको प्रतिमा निर्माण गरेको प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले जानकारी दिए । उनले भने, यिनको प्रतिमा निर्माणमा मात्रै ९० हजार रुपैँया खर्च भएको छ । पार्क निर्माण, रङ्गरोगन, शिलालेख लगायतको भने एकमुष्ट लगानी निकाल्नै बाँकी छ । प्रतिमा निर्माणमा तीन महिना लागेको बताइएको छ ।

दार्जिलिङको लिङ्गिया चियाबगानमा विसं १९९४ बैशाख महिना जन्मिएका पारिजातको विसं २०५० बैशाखमा काठमाण्डौँको वीर अस्पतालमा निधन भएको हो । उनको पिता कालुसिंह वाइबा र माता अमृत मोक्तान हुन् । प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षता तथा पालिका प्रमुख महेश बस्नेतको प्रमुख आतित्थ्यतामा अनावरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानका सचिव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत काली बहादुर भूजेलले स्वागत मन्तव्य राखेका थिए । यस्तै साहित्यकार डा देवी क्षेत्री दुलालले भने शुभकामना मन्तव्य राखेका थिए ।