शनिश्चरे । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव बलदिप राईले संविधानको स्प्रिटविपरीत संसद् विघटन भएको बताएका छन् । संसद् विघटन अस्थिर राजनीतिको उपज भएको बताउँदै उनले मुलुक कुन दिशातर्फ गइरहेको छ भन्ने डरलाग्दो स्थिति सिर्जना भएको पनि उल्लेख गरे ।

‘सबै खाले विभेदको अन्त्य र पूर्ण संघियताको सुनिश्चतता, भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माण हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवसको सन्दर्भमा मंगलबार अर्जुनधारा नगर परिषद्द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका प्रवक्तासमेत रहेका सचिव राईले त्यस्तो बताएका हुन् ।

उनले सत्तामा भएका नेताहरुसँग इमानदारिता र नैतिकता नहुँदा जनताले दिएको भोटको दुरुपयोग गर्दै देशलाई राजनीतिक अस्थिरतातर्फ ढल्काएको आरोप पनि लगाए ।

हाल सडकमा आन्दोलनरत् दाहाल–नेपाल समूहसँगै अन्य दलहरुतर्फ संकेत गर्दै उनले हाल भइरहेको आन्दोलन कुर्सीको लागि आफू अनुकूल बनाउन नभइ एकल जातिवादीको रुपमा रहेको संविधान संशोधनको लागि हुनुपर्ने जिकिर गरेका छन् ।

त्यस्तै अब देश बनाउने हो भने सबै जातिको अधिकार र विकासका निम्ति संघर्षरत् इमानदारिता र नैतिकता भएको नेताहरुको पार्टी राष्ट्रिय जनमुक्तिमा लामबद्ध हुनका लागि उनले आह्वान गरेका छन् ।

परिषद्का अध्यक्ष राजेन्द्र खालिङ ‘राज’को अध्यक्षता र पार्टी केन्द्रीय उपाध्यक्ष मीना पन्धाकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा किरात लिम्बूवान खम्बूवान परिचालन समिति प्रदेश नं १ का उपाध्यक्ष तिलसिंह माङमु लिम्बू, सचिव कृष्णकुमार थेवे, पूर्व नगर उपाध्यक्ष झलक याम्फू राईलगायतले पार्टीको धारणा व्यक्त गरेका थिए ।

परिषदका उपाध्यक्ष तेजबहादुर योङहाङ लिम्बूले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार शिवकुमार चाम्लिङ राईले गरेका थिए । सोही कार्यक्रमको अवसरमा वनभोज र सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।