झापा । भद्रपुर-५ स्थित झापा चौकमा रहेको कपास फ्याक्ट्रीमा आगलागी हुँदा १२ लाखबराबरको क्षति भएको छ ।

मंगलबार अपराह्न ३ः४० बजे रामचन्द्र सहनीले सञ्चालन गर्दै आएको कपास फ्याक्ट्रीमा आगलागी भएको हो । प्रहरीका अनुसार कपास पेल्ने क्रममा कपाससँगै मिसिएर आएको ढुंगाका कारण मेसिन बिग्रँदा आगो उठेको थियो ।

आगलागीमा परी कपास पेल्ने एक थान मेसिन र ५७ बोरा तयारी कपास पूर्णरुपमा जल्दा अन्दाजी १२ लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार कपास फ्याक्ट्रीमा लागेको आगो भद्रपुर नगरपालिकाको दमक, स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा ४ बजे नियन्त्रणमा आएको थियो ।