राजगढ (झापा) । निर्माणाधीन सडकमा खनेर छोडेको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि ठेकेदारले क्षतिपूर्ति दिने भएका छन् ।

मृतक परिवारले क्षतिपूर्ति नदिएसम्म लाशलाई पोष्टमार्टम नगर्ने अडान लिएपछि सडक विभागका प्रतिनिधि, ठेकेदार, जनप्रतिनिधि र मृतक परिवारबीच इलाका प्रहरी कार्यालय राजगढमा छलफल भएको थियो । छलफलमा तत्काललाई ठेकेदारले काजक्रिया खर्च र उपचार खर्चका लागि १ लाख रुपैयाँ दिने सहमति भएको छ ।

त्यस्तै सडक विभागबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशीलगायतको रोहवरमा सो सहमति गरिएको हो । सो सडक बिर्तामोडका केदार गिरीले ठेक्का लिएका हुन् ।

चारपाने-चैतुबारी-मतिगडा-राजगढसम्मको १६.२ किलोमिटर सडक निर्माणको ठेक्का लिएका ठेकेदारले बीच सडकमा खनेको खाल्डोमा परी मे. ७ प ७९६७ नम्बरको मोटरसाइकलका चालक कचनकवल १ बस्ने ३२ वर्षिय नन्दलाल राजवंशीको मृत्यु भएको थियो । बुधबार साँझ ६.४० बजे बाह्रदशी ३ स्थित बाह्रदशी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको सो मोटरसाइकल खाल्डोमा परी दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक कचनकवल १ बस्ने नन्दलाल राजवंशी र पछाडि सवार सोही ठाउँका २५ वर्षिय कोकिल राजवंशीलाई उपचारको लागि पदम क्लिनिक राजगढ लगिएकोमा क्लिनिकमा पुर्याउँदा चालकको मृत्यु भइसकेको थियो । पछाडि सवार कोकिललाई सामान्य उपचारपश्चात् थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा त्यहाँबाट ओम साइ पाथीभरा भद्रपुर रेफर गरिएको छ ।

निर्माणाधीन सो सडकमा ठेकेदारले कुनै पनि साइनबोर्ड नराखी सवारी आवागमन रोक्न खाल्डो खनेका थिए भने गिटीको थुप्रो बनाएका थिए । सावधान नगराईकन बाटोमा खाल्डो खन्नु ठेकेदारको लापरवाही भएको बाह्रदशी ३ का वडाध्यक्ष राजवंशीले बताए ।