झापा । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।

पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले सामाजिक संजालमार्फत् नै पुष्टि गरिसकेका छन् । न्युज २४ टेलिभिजनमा प्रशारण हुँदै आएको उनको सिधाकुरा जनतासँग कार्यक्रमको अन्तिम श्रृंखला आज रेकडेर्ड प्रशारण हुँदैछ ।

सिधा कुरा जनतासँग कार्यक्रमका एक सदस्यका अनुसार लामिछाने आफ्नो टिमसहित न्यूज २४ बाट बाहिरिन लागेका हुन् । कार्यक्रम प्रोड्युसर दिपक बोहोरा, सिनियर रिपोर्टर युवराज कडेँलले पनि न्यूज २४ छोडेका छन् । लामिछानेको नयाँ टिभी खोल्ने योजना छ । जुन केही महिनापछि प्रशारणमा आउने बताइएको छ ।

लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन । नयाँ योजनामा काम गरिरहेको छु’, लामिछानेले भने, ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’ कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए ।

नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् । सिधा कुरा जनतासँग चलाउने क्रममा उनले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए । खासगरी नेपाल छोडेर अमेरिका भासिन खोजेको आरोप र पहिलो श्रीमतीलाई डिभोर्स दिएको विषयमा उनले खुबै आलोचना खेप्नुपरेको थियो । यद्यपि, फरक प्रस्तुति र जनतासँग प्रत्यक्ष जोडिएका समस्यामाथि रिपोर्टिङका कारण उनी आमनागरिकले सर्वाधिक रुचाएका प्रस्तोता हुन् ।

टेलिभिजनमा मात्रै नभएर युट्युबमा पनि उनको कार्यक्रम नेपालको हकमा सर्वाधिक हेरिन्छ । लामिछाने भदौ २०७६ मा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउसमेत परेका थिए । उनी पक्राउ पर्दा उनका हजारौँ समर्थकले सडकमा प्रदर्शन गरेका थिए । तर, आत्महत्या दुरुत्साहन गरेको आरोप पुष्टि नभएपछि माघ २०७६ मा अदालतले उनलाई सफाइ दिएको थियो ।

लामिछाने टेलिभिजनका चर्चित मात्र नभई कीर्तिमानी प्रस्तोता पनि हुन् । उनले अप्रिल २०१३ मा न्युज २४ टेलिभिजनमार्फत निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तर्वार्ता गरी विश्व कीर्तिमान् बनाएका थिए ।